

भारतको मध्य राज्य छत्तीसगढमा एउटा स्टिल प्लान्टभित्र भएको विष्फोटमा ६ जना कामदारको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

छत्तीसगढको राजधानी रायपुरबाट करिव १०१ किलोमिटर उत्तर–पूर्वमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको बकुलाही गाउँस्थित स्टिल प्लान्टभित्र उक्त विष्फोट भएको हो।
अधिकारीहरूकाअनुसार प्लान्टको डस्ट सेटलिङ च्याम्बरमा विष्फोट भएको थियो। जसका कारण त्यहाँ उपस्थित कामदारहरूमाथि तातो धुलो खस्दा उनीहरू गम्भीर रूपमा जलेका छन्। प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई बताएअनुसार विष्फोटले प्लान्ट परिसरभित्र त्रास फैलाएको थियो।

बाक्लो धुवाँ तथा आगोको ज्वालाका बीच कामदारहरू ज्यान जोगाउन बाहिर दौडिरहेका देखिएका थिए। अधिकारीहरूले यस विष्फोटको घटनाबारे विस्तृत अनुसन्धान गर्न आदेश दिएका छन्।
Views: 162


