Aamsanchar

राष्ट्रिय सभा सदस्य निर्वाचन : दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार सोमनाथ पोर्तेल र रोशनी मेचे विजयी

Author Image
आइतवार, माघ ११, २०८२

 झापा- राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे ।

त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नमिता नेउपानेले २ हजार २६८ मतभार ल्याइन् ।

निर्वाचनमा स्थानीय तहका तर्फ २ सय ५८ र प्रदेशसभातर्फ ८७ मत खसेको थियो । स्थानीय तहमा कुल २ सय ६७ मध्ये २५८ ले मतदान गरे । प्रदेशसभामा ९२ मध्ये ८७ मत खस्यो । मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेशसभाको ५३ तोकिएको थियो ।

प्रदेशसभातर्फ गठबन्धनका ६४ र नेकपाका २२ मत खसेका थिए । निर्वाचनमा एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कोशी प्रदेशबाट ‘अन्य समूह’मा कांगेसका नेता सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए ।

राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते विराटनगरमा भएको मनोनयन दर्ताको समयमा थापाको एकल उम्मेदवारी परेको थियो । उनी सोही दिन निर्वाचित भए पनि आइतबार मात्रै आयोगले औपचारिक घोषणा गरेको हो ।

Views: 46

प्रतिक्रिया (०)