Aamsanchar

सरीता गिरीको आत्महत्या दुरुत्साहनमा प्रहरी हबल्दार पक्राउ

Author Image
सोमवार, माघ १२, २०८२

डडेलधुरा- जिल्ला प्रहरी कार्यालय डडेलधुराका एक जना प्रहरी हबल्दार आत्महत्या दुरुत्साहनमा पक्राउ परेका छन् । डडेल्धुरामा मृत फेला परेकी सरीता गिरीको सुसाइड नोटका आधारमा प्रहरी हबल्दार यज्ञ साउद पक्राउ परेका हुन् ।

सवारी चालक पदमा कार्यरत साउदलाई हिरासतमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले जानकारी दिए ।

भागेश्वर गाउँपालिका–३ स्थायी घर भई हाल अमरगढी नगरपालिका–४ खलंगास्थित जिल्ला प्रहरी कार्यालयको पछाडि बस्दै आएकी सरिता गिरी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार गिरीको सुसाइड नोटमा प्रहरी चालक साउदले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेकी छन् ।

सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै उनले लेखेकी छन्, ‘मलाई मर्न बाध्य बनाइस् । मरेर के गर्छस् गर भनिस् ।’ आफूले जम्मा गरेको पैसा र सुनसमेत प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति चिन्ता व्यक्त गरिएको छ ।

सुसाइड नोटमा लेखिएको छ, ‘मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस् । मैले दिएको १५ लाख रुपैयाँ मेरो छोरालाई दिनू । कसैले पढाइ देलान् । आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन छोरा माफ गरिदिनु ।’ साथै, आफूबाट लिइएको सुनसमेत छोरालाई दिन आग्रह गरिएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सिंहले मृतकका परिवारजन डडेल्धुरा आइपुगेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

यता, मृतकका आफन्तहरूले भने प्रहरी कर्मचारी नै आरोपित भएको घटनाको छानबिन प्रहरीले नै गर्नु शंकास्पद रहेको बताएका छन् । उनीहरूले पीडितले न्याय नपाउने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

मृतकका गिरीका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीमा छन् । उनीहरुबाट एक छोरा र एक छोरी छन् ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर