Aamsanchar

झापामा ६ महिनामै भेटिए ५५ जना कुष्ठरोगका नयाँ बिरामी

Author Image
सोमवार, माघ १२, २०८२

झापा – झापामा कुष्ठरोगको सङ्क्रमण दरमा कमी आउनुको साटो उल्टै बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै जिल्लाभर ५५ जना नयाँ कुष्ठरोगी फेला परेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता थपिएको हो। स्वास्थ्य कार्यालय झापाका अनुसार पुस मसान्तसम्म फेला परेका यी नयाँ बिरामीमध्ये एक जना बालबालिका समेत रहेका छन्।

जिल्लाका १५ पालिकाहरूमध्ये दमक नगरपालिका र कचनकवल गाउँपालिका कुष्ठरोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन्। यी दुई पालिकामा मात्रै १२/१२ जना नयाँ बिरामी भेटिएका छन्। यस्तै शिवसताक्षी, बाह्रदशी र बिर्तामोडमा ५/५ जना, भद्रपुरमा ४ जना, मेचीनगरमा ३ जना तथा बुद्धशान्ति, गौरादह र गौरीगञ्जमा २र२ जना नयाँ बिरामी पहिचान भएका छन्। फेला परेकामध्ये ५३ जनाले अहिले नियमित औषधि सेवन गरिरहेका छन्।

पछिल्लो पाँच वर्षको तथ्याङ्कले झापामा कुष्ठरोगको ग्राफ लगातार उकालो लागिरहेको देखाउँछ। आर्थिक वर्ष २०७७/७८ मा ९५ जना मात्र बिरामी रहेकोमा गत आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा यो सङ्ख्या बढेर १४७ पुगेको छ। सङ्क्रमण दर पनि १.०२ प्रतिशतबाट बढेर १.४७ प्रतिशत पुग्नुले जिल्लामा कुष्ठरोग नियन्त्रण बाहिर जान थालेको सङ्केत गर्छ।

नेपालमा वार्षिक करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी थपिने गरेका छन्। चिकित्सकहरूका अनुसार समयमै पहिचान भएमा बहु–औषधि विधिबाट यो रोग ६ देखि १२ महिनाभित्र पूर्ण रूपमा निको हुन्छ। तर, समाजमा अझै पनि कुष्ठरोगलाई कलङ्कका रूपमा हेर्ने र बिरामीलाई सामाजिक अवहेलना गर्ने डरका कारण धेरै मानिसहरू रोग लुकाएर बस्न बाध्य छन्।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर