Aamsanchar

स्वदेशी जुत्ता बजार चलायमान बनाउन बिर्तामोडमा बृहत् मेला, ५० प्रतिशतसम्म छुट

Author Image
सोमवार, माघ १२, २०८२

स्थानीय उद्योगको बजार विस्तार गर्दै पछिल्लो समय सुस्ताएको जुत्ता व्यवसायलाई पुनः चलायमान बनाउने उद्देश्यसहित झापाको बिर्तामोडमा बृहत् जुत्ता मेला सञ्चालनमा आएको छ। स्वदेशमै उत्पादित जुत्ता ब्रान्डलाई एउटै स्थानमा ५० प्रतिशतसम्म छुटसहित उपलब्ध गराइएपछि उपभोक्ताको उल्लेख्य चासो देखिएको छ।

“स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान” भन्ने मूल नारासहित माघ ७ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने मेलामा नेपालमै उत्पादन भएका विभिन्न गुणस्तरीय स्वदेशी जुत्ता ब्रान्डहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।

बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजनामा सञ्चालित मेलामा अन्य बजारको तुलनामा ५० प्रतिशतसम्म छुटमा जुत्ताहरू उपलब्ध गराइएकाले उपभोक्ताको आकर्षण बढेको आयोजकको भनाइ छ । मेलामा दैनिक उल्लेख्य संख्यामा ग्राहकको उपस्थिति देखिन थालेको छ ।

बृहत् जुत्ता मेलाका सञ्चालक सुमन नेपालीका अनुसार स्वदेशी ब्रान्डको पहिचान मजबुत बनाउने र उपभोक्तालाई भरपर्दो तथा गुणस्तरीय उत्पादन उपलब्ध गराउने लक्ष्यसहित मेला आयोजना गरिएको हो। स्वदेशी कम्पनीका ब्रान्ड मात्र समेटिएकाले गुणस्तरमा कुनै सम्झौता नहुने उनले बताए ।

सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक दिपेन्द्र राउतले विगत वर्षको मेलाले नेपाली उत्पादनको प्रचार–प्रसार र बजारीकरणमा सकारात्मक भूमिका खेलेको उल्लेख गरे। यस वर्ष उपभोक्ताको मागलाई मध्यनजर गर्दै मेला आयोजना गरिएको उनको भनाइ छ । मेलामा दैनिक सयौँ उपभोक्ताले विभिन्न प्रकारका जुत्ता तथा चप्पल खरिद गर्दै आएका छन्। टिकाउ र सुलभ मूल्यका कारण पछिल्ला वर्षहरूमा स्वदेशी जुत्ताप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ।

Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर