Aamsanchar

नेपालमा बसेर शंकास्पद गतिविधिमा संलग्न एक अमेरिकी र एक चिनियाँ नागरिक नागरिक अध्यागमनको नियन्त्रणमा

Author Image
सोमवार, माघ १२, २०८२

काठमाडौं – भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शंकास्पद तथा गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा अध्यागमन विभागले दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा परेकामध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन्। अध्यागमन विभागका अनुसार उनीहरूलाई मिति २०८२ माघ ११ गते नियन्त्रणमा लिइएको हो।

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार ती चिनियाँ नागरिक ठमेलस्थित पकनाजोलको ‘फ्यामिली पिस होटल’मा मासिक २० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएका थिए। उनी सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए भने त्यसपछि पटक–पटक गरी १३ पटक व्यावसायिक भिसा लिएको पाइएको छ।

उनले नेपालमा छ वटा होटेल तथा व्यावसायिक कम्पनी दर्ता गराएको भए पनि वास्तविक लगानी तथा कारोबार नगरेको पाइएको विभागले जनाएको छ। व्यावसायिक भिसा प्राप्त गर्ने उद्देश्यले मात्र कम्पनी दर्ता गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ढकालले जानकारी दिए।

ती चिनियाले स्थापना गरेका तर सञ्चालनमा नआएका कम्पनीहरूमा Yan Shuping Hotel and Restaurant Pvt. Ltd., Hotel with Restaurant Yan, झोङविन इन्टरनेशनल कार्गो कम्पनी, Moa Ying Hotel with Restaurant, Spirit Monkey Information Technology तथा शाव जिअसुन होटल विथ रेष्टुरेण्ट कम्पनी रहेका छन्।

त्यसैगरी, सन् २०१७ मा पहिलोपटक नेपाल प्रवेश गरेका अमेरिकी नागरिक सन् २०२० मा पुनः नेपाल प्रवेश गरी हालसम्म नेपालमै बस्दै आएका थिए। उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा CALVARY SERVICE CENTER Pvt. Ltd. स्थापना गरेको भए पनि कम्पनीको ठेगाना ललितपुर महानगरपालिका–१८, सैंबु उल्लेख गरिएको पाइएको ढकालले जानकारी दिए।

अध्यागमन विभागका अनुसार उनले गोदावरी नगरपालिकामा घर भाडामा लिएर गैरकानुनी रूपमा बालगृह सञ्चालन गर्दै आएका थिए। उक्त बालगृहमा आधिकारिक दर्ता तथा बोर्डसमेत नरहेको र आर्थिक अवस्था कमजोर भएका १२ जना बालिकालाई आश्रय दिएर राखिएको पाइएको उनले बताए।

अध्यागमन विभागका अनुसार दुवै विदेशी नागरिकमाथि थप अनुसन्धान भइरहेको छ र कानुनअनुसार आवश्यक कारबाही अघि बढाइनेछ।

Views: 48

प्रतिक्रिया (०)