

धनकुटा — ताप्लेजुङको पाथीभरा जाने बाटोमा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ ।

कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिको संयुक्त आयोजनामा विरोध कार्यक्रम गरिएको हो ।
धनकुटाको मदन चौकमा आयोजित कोणसभामा मुकुम्लुङ–पाथीभरा क्षेत्रलाई आदिवासी समुदायको ऐतिहासिक, सांस्कृतिक र धार्मिक आस्थाको केन्द्रका रूपमा उल्लेख गर्दै त्यस क्षेत्रमा केवलकार निर्माणले पहिचान, परम्परा र वातावरणमा गम्भीर असर पार्ने दाबी गरेका छन् ।

उनीहरूले विकासको नाममा स्थानीय समुदायको भावना, धार्मिक मान्यता र ऐतिहासिक महत्वमाथि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
विरोध कार्यक्रममा किराँत याक्थुमचुम्लुङका केन्द्रीय सदस्य चन्द्रसिंह नेम्वाङ, विश्वहिन्दु महासंघ कोशी प्रदेशका आनन्द सन्तोषी राईलगायतले मुकुम्लुङलाई केवल धार्मिकस्थल मात्र नभई आदिवासी समुदायको सभ्यता, संस्कार र आत्मसम्मानसँग जोडिएको भूमि भएको उल्लेख गरे ।
उनीहरूले पाथीभरा क्षेत्रमा पूर्वसूचना, स्थानीयको सहमति र पर्याप्त वातावरणीय अध्ययन विना अगाडि बढाइएको कुनै पनि आयोजना खारेज गर्नुपर्ने माग राखे ।
आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले विकासका नाममा स्थानीय संस्कृति, प्रकृति र आस्थामाथि चोट पुर्याउन नहुने स्पष्ट पारेका छन् । यसअघि पनि ताप्लेजुङ, धरान, विराटनगरलगायत स्थानमा केवलकार निर्माणको विरोधमा प्रदर्शन, ज्ञापनपत्र र सांकेतिक आन्दोलन हुँदै आएका छन् । माघ १८ गते देखि केवलकार निर्माणकाविरुद्ध ताप्लेजुङमा आन्दोलनको तयारी रहेको उनीहरुको भनाइ छ ।


