

ओखलढुङ्गा – एक महिनाअघि भएको दम्पती हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ।

भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो।
वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले घटनाबारे जानकारी दिँदै आफू नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको बताए।
यसअघि करिब एक महिना अघि यही चिशंखुगढी गाउँपालिका–६ भदौरेमै करिब ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको बेला पुनः अर्को हत्याको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन्।
लगातार भएका हत्या घटनाले भदौरे क्षेत्रमा गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै स्थानीयले दोषीलाई शीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


