यातायात व्यवस्था कार्यालयभित्र जरा गाडेको अनियमितताको सञ्जालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा प्रहार गरेको छ। लाइसेन्स परीक्षामा ‘सेटिङ’ हुँदै आएको आशंकापछि अख्तियारले चाबहिलस्थित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित कर्मचारी, ट्राफिक प्रहरी र निजी संस्थाका व्यक्तिहरूको मोबाइल फोन नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलका नवौं तहका कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीको २५ थान मोबाइल जफत गरिएको छ। त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित तीन ट्राफिक प्रहरीको मोबाइल पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

यस प्रकरणमा नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित सात जनाको संलग्नता देखिएपछि उनीहरूको ९ थान मोबाइल फोनसमेत अख्तियारले कब्जामा लिएको छ।
अनुसन्धानका क्रममा लिखित परीक्षामा फेल भएको मितिले तोकिएको तीन महिनाको अवधि नपुग्दै पुनः परीक्षामा सहभागी गराइएका परीक्षार्थीहरूको उत्तरपुस्तिकासमेत अख्तियारले जफत गरेको छ।

कार्यालय प्रमुख, कर्मचारी र प्रहरीको मिलेमतोमा पाँच हजारदेखि दस हजार रुपैयाँसम्म असुली गरी लिखित परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराइएको प्रमाण फेला परेपछि अख्तियारले डिजिटल प्रमाण संकलनका लागि मोबाइल फोन जफत गरेको जनाएको छ। घटनाले यातायात लाइसेन्स प्रक्रियामा लामो समयदेखि चल्दै आएको सेटिङ र भ्रष्टाचारलाई सतहमा ल्याएको छ।


