Aamsanchar

वीरता जेसीजको ४५औँ अध्याय सुरु, नेतृत्वको जिम्मेवारी लोकचन्द्र श्रेष्ठलाई

Author Image
बिहिवार, माघ १५, २०८२

झापा- झापाको जेसीज अभियानमा नयाँ ऊर्जा थपिँदै वीरता जेसीजको ४५औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहसँगै संस्थाको नेतृत्व औपचारिक रूपमा नयाँ कार्यसमितिको हातमा पुगेको छ।

सन २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सन २०२६ का लागि लोकचन्द्र श्रेष्ठ (एलसी) को अध्यक्षतामा निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो। निवर्तमान अध्यक्ष कुँवरले आफ्नो गलामा रहेको अध्यक्षीय चेन नयाँ अध्यक्ष श्रेष्ठको गलामा लगाइदिँदै जिम्मेवारी सुम्पिए।

कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्वलन तथा जेसीआईका संस्थापक हेनरी गेसनवियरको तस्बिरमा माल्यार्पण गरी गरिएको थियो। बसन्त ढकालले जेसीज आस्था वाचन गरेका थिए भने जुनियर रेश्मा चिमरियाले जेसीआईको मिसन र भिजन प्रस्तुत गरिन्।

कार्यक्रम संयोजक जेसी अमरजित शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
समारोहमा विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरियो। दमन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज पुरस्कार–२०२५ संघ–संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारीलाई प्रदान गरिएको थियो। पुरस्कार संस्थापक बसन्त रिमालले घोषणा तथा वितरण गरेका थिए।
त्यसैगरी मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२५ पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारी र बिर्तामोड झापा डटकमका सञ्चालक टीकाराम बाँस्तोलालाई संयुक्त रूपमा प्रदान गरियो। स्व। दिलिपकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार–२०२५ सिनेटर जेसी घनश्याम चौधरी (अध्यक्ष–२०२३)  लाई प्रदान गरिएको छ।
वर्ष २०२५ का अध्यक्ष युवराज कुँवरले प्रदान गर्ने उत्कृष्ट जेसीज अवार्ड–२०२५ उपाध्यक्ष अजयकुमार चौधरीले ग्रहण गरे। जेसीज अभियानमा दीर्घकालीन योगदान पुर्‍याउँदै वीरता जेसीजलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वीरता जेसीज सन् २०१८ का अध्यक्ष, नेपाल जेसीज सन् २०१९ का राष्ट्रिय तालिम आयुक्त तथा हाल प्रमुख सल्लाहकार एकराज गिरीलाई विशेष सम्मान प्रदान गरियो। गिरी नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक हुन्।
यसै अवसरमा निर्वाचन अधिकृत तथा निवर्तमान अध्यक्ष विकास बस्नेतको संयोजनमा जुनियर जेसीजको पनि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो। सन २०२६ का लागि साहिल ढकाल जुनियर जेसीजको अध्यक्षमा चयन भएका छन्। निवर्तमान अध्यक्ष अश्मित गोसाईले ढकाललाई अध्यक्षीय चेन हस्तान्तरण गर्दै पदभार सुम्पिए।
वीरता जेसीज सन २०२६ का अध्यक्ष लोकचन्द्र श्रेष्ठले आफ्नो कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण गराउँदै औपचारिक रूपमा कार्यकाल सुरु गरेका छन्। कार्यक्रममा वर्ष २०२५ र २०२६ का अध्यक्षका प्रथम महिलाबीच मायाको चिनो साटासाट गरिएको दृश्यले समारोहलाई थप आत्मीय बनाएको थियो।
समारोहमा वीरता जेसीजका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, पूर्व अध्यक्ष एवं संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, प्रमुख अतिथि जीवन कार्कीलगायतले शुभकामना मन्तव्य राख्दै जेसीज अभियानले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर