

काठमाडौं – नेपालस्थित कोरियाली राजदूतावासले शैक्षिक कागजात प्रमाणीकरण प्रक्रियामा देखिँदै आएको जटिलता कम गर्ने उद्देश्यसाथ विद्यार्थीका लागि अनलाइन अपोइन्टमेन्ट डेट अनिवार्यता हटाएको छ । अब कोरियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरूले स्वयं दूतावासमा उपस्थित भएर कागजपत्र प्रमाणीकरणका लागि आवेदन दिन सक्ने छन् ।

दूतावासले २६ जनवरी २०२६ मा जारी गरेको सूचनाअनुसार अब कागजात प्रमाणीकरणका लागि अनलाइन वा इमेलमार्फत अपोइन्टमेन्ट लिने व्यवस्था लागू हुने छैन । विद्यार्थी स्वयं उपस्थित भएर शैक्षिक कागजात प्रमाणीकरण प्रक्रियाका लागि आवेदन दिनुपर्ने दूतावासले स्पष्ट पारेको छ ।
यसअघि विद्यार्थीहरूले अनलाइन अपोइन्टमेन्ट प्रणालीमा डेट नपाइने, वेबसाइट समय–समयमा बन्द हुने तथा सीमित कोटाका कारण महिनौंसम्म प्रतीक्षा गर्नुपर्ने समस्या झेल्दै आएका आएका थिए । यसबाट ठूलो संख्यामा विद्यार्थीको अध्ययन योजना प्रभावित हुँदै आएको थियो ।

विद्यार्थीहरूको व्यापक गुनासोपछि अन्नपूर्ण पोस्ट्ले सो विषयमा समाचार प्रकाशित गरेको थियो । नेपाली विद्यार्थी समाज सोनसिक दक्षिण कोरियाका उपाध्यक्ष सोनाम शेर्पाले काजजात प्रमाणीकरणमा देखिएको संकटको विषयमा कोरियाली सरकारको न्याय मन्त्रालय तथा परराष्ट्र मन्त्रालयसमक्ष औपचारिक उजुरीसमेत दर्ता गरेका थिए । उजुरीमा कागजात प्रमाणीकरण प्रक्रियामा देखिएको जटिलताका कारण हजारौं नेपाली विद्यार्थीको आवेदन अन्तिम चरणसम्म पुग्न नसकेको उल्लेख थियो ।
नेपालमा कन्सल्टेन्सी व्यवसायीहरूले दूतावासमा आफ्नो पहुँच रहेको दाबीसहित कागजपत्र प्रमाणीकरण मितिका लागि विद्यार्थीसँग लाखौं रकम असुल्ने गरेको पाइएको छ । कोरिया आइसकेका अधिकांश विद्यार्थीहरूले अनलाइन अपोइन्टमेन्टका लागि कन्सल्टेन्सीलाई ७० हजारदेखि २ लाख रुपैयाँसम्म बुझाउनुपरेको गुनासो गरेका छन् । सोनसिक उपाध्यक्ष शेर्पाले कोरियाली राजदूतावासको यो निर्णयलाई स्वागत गर्दै अब अपोइन्टमेन्ट डेटको नाममा विद्यार्थी ठगिनबाट जोगिने बताए । उनले राजदूतावासको यो कदमले विद्यार्थीहरूको कन्सल्टेन्सीप्रतिको निर्भरता घटाउने, आवेदन प्रक्रिया थप पारदर्शी हुने र विद्यार्थीलाई आर्थिक भार कम पर्ने विश्वास व्यक्त गरे ।
नेपाल अझै अपोस्टिल कन्वेन्सनको सदस्य राष्ट्र नभएका कारण अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरू शैक्षिक कागजात प्रमाणीकरणका लागि सम्बन्धित देशको दूतावासमा निर्भर हुनुपर्ने अवस्था छ ।


