
काठमाडौँ – नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले काँग्रेसलाई नजिताए देश भड्खालोमा जाने चेतावनी दिएका छन्।

निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताएका छन्।
उनले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार काँग्रेस लगायतका पुराना राजनीतिक दलहरूले लडेर ल्याएको स्मरण गराए। उनले लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई वश्वास गर्नुको विकल्प नभएको बताए। नेपाली काँग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गरे।

नयाँ, बदलिएको र एजेण्डासहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने बताए।
शर्माले भने, ‘लोकतन्त्रको रक्षा गर्ने हो भने काँग्रेसलाई नै विश्वास गर्नुपर्छ। त्यसको विकल्प छैन। अब हामीले बदलिएको काँग्रेस लिएर आएका छौँ। काँग्रेसलाई पत्याउनुभएन भने देश भड्खालोमा जान्छ।’
नेता शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित रहेको बताए। बदलिएको काँग्रेसले नै देश बदल्ने बताए। मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा आफूलाई अत्यधिक मत दिएर विजयी गराउने दावी गरे।


