

विर्तामोड- आगामी फागुन २१ गते हुने प्रतिनिधि सदस्य निर्वाचनमा आचारसंहिता पालना गर्ने झापाका राजनीतिक दलले सामुहिक प्रतिबद्धता जनाएका छन् ।

आसन्न निर्वाचनका लागि दल तथा उम्मेद्वारहरुले पालना गर्नु पर्ने आचारसंहिता पालना गर्न आफुहरु प्रतिबद्ध रहेको धारणा ब्यक्त गरे । आइतबार बिर्तामोडमा संवाद समूहले आयोजना गरेको छलफलमा बोल्दै दलहरुले घृणा जगाउने अभिब्यक्ति बन्द गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि आफुहरु तयार रहेको साझा धारणा व्यक्त गरे । तर, उनीहरुले अझै पनि चुनावी वातावरण बन्न नसकेको भन्दै फरार कैदी र हतियार सुरक्षा थ्रेट रहेको उल्लेख गरे । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न झापाका राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनले साझा प्रतिबद्धता व्यक्त गर्दै आवश्क समन्व्य गर्न तयार रहेको बताएका हुन् ।
दलहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने र सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार रोक्न आफ्नो ठाउँबाट पहल गर्ने सामूहिक अठोट गरेका हुन्। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचन आचारसंहिता २०८२ को कानूनी व्यवस्थाबारे प्रष्ट पार्दै २४ वटा विभिन्न क्षेत्र र समूहले यसको अनिवार्य पालना गर्नुपर्ने बताए । उनले फागुन ४ गतेपछि मात्रै जुलुस, र्याली र कोणसभा गर्न पाउने व्यवस्था रहेकाले अहिलेदेखि नै हुन सक्ने उल्लंघनका क्रियाकलापमा प्रशासनले निगरानी गरिरहेको बताए । प्रजिअ गेलालले झापामा मर्यादित, शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्वेवार हुन र सहयोग गर्न आग्रह गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईंले झापामा निर्वाचन आचारसंहिता पालनाको अवस्था बारे शूक्ष्म ढंगले अनुगमन भइरहेको, यदि निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइए उम्मेद्वारी समेत खारेज हुन सक्ने तर्फ दलहरुलाई सजग गराए ।

सुरक्षाको विषयलाई लिएर झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले अहिलेको प्रमुख चुनौती डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको दुरुपयोग रहेको उल्लेख गरिन् । प्रहरीले सामाजिक सञ्जालको सुक्ष्म मोनिटरिङ गरिरहेको र जिल्लाबाट सम्भव नभएका प्राविधिक विषयहरू केन्द्रमा पठाइने बताउँदै प्रहरी उपरीक्षक खड्काले सम्भावित सुरक्षा थ्रेटका सूचना समयमै प्रहरीलाई दिन आग्रह गरिन् । उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ढुक्क रहन आग्रह गर्दै हतियार र कैदीको विषयलाई लिएर आत्तिनु पर्ने अवस्था नरहेको उल्लेख गरिन् । उनले ८० प्रतिशतभन्दा धेरै फरार कैदी नियन्त्रणमा आइसकेको र केही थान मात्रै हतियार बाहिर रहेकाले त्यसबाट खासै जोखिम नरहेको उल्लेख गरिन् ।
निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय झापाले सबै गतिविधिलाई अघि बढाइरहेको र मतदाता शिक्षा कार्यक्रमलाई समेत सबै क्षेत्रमा सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले बताए । उनले दलहरुले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।
छलफलमा दलका प्रतिनिधिहरूले सुरक्षा र आचारसंहिता उल्लंघनका गम्भीर विषयहरू उठाएका थिए। नेकपा एमाले नेता तथा प्रदेश सांसद एकराज कार्कीले कतिपय दलले निर्धारित समय अगावै घरदैलो र प्रचार सुरु गरेको भन्दै विधिको शासनमाथि प्रश्न उठाए। आचारसंहिताका कार्यान्वयन गर्ने बारेमा पार्टी कार्यकर्तासम्म संयन्त्र बनाएकोले आाचारसंहिता कार्यान्वयनमा जोड दिइएको बताए । उनले एमाले निर्वाचन आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै सामाजिक सञ्जालको नियमन र अनुगमनमा ध्यान दिन आग्रह गरे ।
नेपाली काँग्रेसका सचिव कृष्ण हुमागाईँले राजनीतिक प्रतिस्पर्धालाई आपराधिक गतिविधिले छायाँ पार्न खोजेको बताए । विर्तामोडबाट लुटिएका हतियार अझै नियन्त्रणमा नआएकोमा चिन्ता व्यक्त गरे। उनले निर्वाचनको विकल्प नरहे पनि अहिले नै ढुक्कले निर्वाचन हुन्छ भन्ने अवस्था समेत नरहेको उल्लेख गरे । उनले आफ्नो पार्टी आचारसंहिता पालनामा कहीं नचुक्ने बताए ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका ज्योतीसिंह दर्लामीले मतदाता शिक्षाको अभाव र बाहिर रहेका हतियारको जोखिमबारे कुरा उठाउँदै सुरक्षा निकायलाई जिम्मेवार बन्न आग्रह गरे । उनले निर्वाचनको विकल्प नरहेको उल्लेख गर्दै नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा होमिएको र निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना गर्न तयार रहेको धारणा ब्यक्र गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र खनालले निर्वाचन आयोगको प्रभावकारितामाथि प्रश्न उठाउँदै आफ्ना कार्यकर्तालाई अनुशासनको दायरामा राख्न ५ तहको प्रशिक्षण दिएको जानकारी दिए। निर्वाचन आचारसंहिता विपरित कुनै पनि गतिविधि नगर्ने र निर्वाचनलाई सफल बनाउन आफुुहरुको तर्फबाट पहल गर्ने रास्वपाका नेता शरद जोशीले बताए ।
राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा र नेपाल कम्युनिष्ट पार्टीका सुमन सिंहले झापा क्षेत्र नम्बर ५ लाई केन्द्रित गरी सामाजिक सञ्जालबाट फैलाइएका गलत सूचना र उम्मेदवार लक्षित षड्यन्त्रका हल्लाहरूले मतदातामा त्रास पैदा गरेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए।
त्यस्तै जनता समाजवादी पार्टीका उपाध्यक्ष गणेश इङनामले आफ्नो पार्टी निर्वाचनका समयमा आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको र सोही अनुसार काम भइरहेको धारणा ब्यक्त गरे । उनले निर्वाचनलाई निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा निकाय र दलहरु जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे ।
जनमत पार्टीका अध्यक्ष भोटलाल राजवंशीले निर्वाचनका समयमा सामाजिक सञ्जालबाट अफवाह फैल्याउने र मतदातालाई त्रास सिर्जना गर्ने काम हुन सक्ने भएकाले सुरक्षा संयन्त्रले त्यसको निगरानीमा धयान दिनुपर्ने उल्लेख गरे ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष अनुतसिंह राजवंशीले आफ्नो पार्टी तथा कुनै पनि उम्मेद्वारले निर्वाचन आचारसंहिता उल्लघन नगर्ने प्रतिबद्धता जनाए । उनले दलहरु जिम्मेवार बन्नुपर्ने धारणा ब्यक्त गर्दै सुरक्षा निकायलाई सबै दललाई समान ब्यवहार गर्न आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टीका इञ्चार्ज सुमनसिंह सीले निर्वाचनको विकल्प नरहेको भन्दै दलहरुले हतियारका विषय उठाएर अहिलेको वातावरणलाई विर्गान नहुने धारणा ब्यक्त गरे । उनले राज्यका जिम्मेवार निकायहरुले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु पर्ने भन्दै आफु हार्ने अवस्था आएमा निर्वाचन भाँड्नका लागि केही दलहरु उद्धत रहने उल्लेख गरे । उनले निर्वाचनमा कुनै एक वा दुई दल मात्र सहभागी नरहेको बताउदै सबै दललाई समान रुपमा हेर्नुपर्ने विचार ब्यक्त गरे ।
श्रम संस्कृति पार्टीका हिमालयप्रकाश कन्दङ्वाले आफ्नो पार्टी निर्वाचनप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै निर्वाचन आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाए । छलफलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजा आङ्थुबोले पाथीभरा केबलकारको विवाद समाधान हुनुपर्ने विषयमा जोड दिए । अहिले पनि पाथिभरामा केबुकार निर्माणको काम नरोकिएकोले भोली सम्भावित झडप हुनसक्ने भएकोले त्यसले चुनावमा असर पार्नेमा जोड दिए । सबै सहभागीहरूले जेलबाट भागेका कैदी र अवैध हतियार नियन्त्रण गर्न, एआइ ९कृत्रिम बुद्धिमत्ता० मार्फत फैलाइने घृणास्पद अभिव्यक्ति रोक्न र मतदाता शिक्षालाई प्रभावकारी बनाउन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
दलहरूले आचारसंहिता विपरीत चल्ने आफ्ना कार्यकर्तालाई आफैँले कारबाही गर्ने र निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्ने साझा निष्कर्ष निकालेका छन्।
छलफलमा श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष केशव भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बासु दुलाल, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख उमेश पाण्डे लगायतको सहभागिता थियो ।


