झापाको चुनावी मैदान तातेसँगै पुराना दलभित्रको असन्तुष्टि खुला रूपमा देखिन थालेको छ। यही क्रमबीच नेपाली कांग्रेसका जिल्ला सदस्य बलराम कार्कीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन्।

बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका कार्कीले कांग्रेसका सबै जिम्मेवारीबाट राजीनामा दिएको र आजकै मितिबाट साधारण सदस्यसमेत नरहेको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत रास्वपामा प्रवेश गरेको सार्वजनिक गरेका छन्। कार्की नेपाली कांग्रेस प्यानलबाट वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका थिए । चुनावको बेला पार्टी छोडेर अर्को पार्टीमा जानुलाई कार्की अवसरवादी

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापामा एमाले र कांग्रेसका प्रभावशाली नेताहरूको पार्टी परित्यागको क्रम बढ्दो छ। विशेषतः स्थानीय तहमा प्रभाव राख्ने व्यक्तिहरू रास्वपातर्फ आकर्षित हुन थालेपछि चुनावी सरगर्मी थप चर्किएको छ।
हिजो मात्रै झापा आइपुगेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई भेट्नेहरूको लर्को लागेको छ। भेटघाटका क्रममा नागरिकहरूले उनलाई ‘भावी प्रधानमन्त्री’ भन्दै शुभकामना दिएको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।


पुराना दल छाड्दै नयाँ राजनीतिक विकल्पतर्फ जनप्रतिनिधिहरूको बढ्दो आकर्षणले झापाको चुनावी समीकरण नयाँ मोडतर्फ अघि बढेको संकेत देखिएको छ।
उता नेपाली कांग्रेस झापाले पार्टीका आमन्त्रित जिल्ला सदस्य तथा बिर्तामोड–१ निवासी बलराम कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमार्फत कार्कीलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिनुभएको हो।
विज्ञप्तिमा केही समयदेखि कार्कीले पार्टीहित विपरीतका गतिविधि गर्दै आएको, पटक–पटक सच्यिन अवसर दिँदासमेत आचरणमा सुधार नआएको उल्लेख गरिएको छ। त्यसैले पार्टीको विधानअनुसार आजकै मितिबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ।
कार्कीले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सबै निकाय तथा संस्थाबाट समेत उनको प्रतिनिधित्व खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ। साथै, अब उप्रान्त उनले गर्ने कुनै पनि गतिविधिप्रति पार्टी जवाफदेही नहुने स्पष्ट पारिएको छ।
नेपाली कांग्रेस झापाको यो निर्णयलाई पछिल्लो समय देखिएको पार्टी अनुशासन र आन्तरिक व्यवस्थापनसँग जोडेर हेरिएको छ।




