काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको वाइडबडी विमान उडेको केही समयमै प्राविधिक समस्यामा परेको छ । विमानको दायाँ इन्जिनमा आगो देखिएपछि पाइलटले आपतकालीन प्रक्रिया अपनाउँदै सुरक्षित अवतरणका लागि वैकल्पिक विमानस्थल रोजेका हुन् ।

विमानस्थल स्रोतका अनुसार समस्या देखिनासाथ जहाजले काठमाडौँको आकाशमा केहीबेर फन्को मार्दै अवस्थाको मूल्याङ्कन गरेको थियो । त्यसपछि कोलकातामा अवतरणको अनुमति लिएर जहाज त्यतै डाइभर्ट गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले आगलागी देखिएलगत्तै दायाँ इन्जिन बन्द गरिएकाले आगो नियन्त्रणमा आएको जानकारी दिनुभयो । “सुरक्षालाई प्राथमिकता दिँदै बायाँ इन्जिनको सहायताले जहाज सुरक्षित रूपमा कोलकातातर्फ मोडिएको हो,” उहाँले भन्नुभयो ।
‘ए३३०–३०३’ सिरिजको उक्त टर्किश एयरलायन्सको जहाजमा २२५ यात्रु सवार थिए । घटनापछि सावधानीका रूपमा त्रिभुवन विमानस्थल करिब १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो । यात्रु र चालकदल सबै सुरक्षित रहेको बताइएको छ ।



