Aamsanchar

प्रधानमन्त्रीले गोली चलायो भन्नेहरू बेवकुफ वा अपराधी हुन् : केपी शर्मा ओली

Author Image
बिहिवार, माघ २२, २०८२

झापा – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताएका छन्।

झापावासीहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। उनले गत भदौ २३ र २४ गतेको घटना केही तत्वहरूले उपद्रव मच्चाएर ठूलो उपद्रव तथा राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने वातावरण बनाउने प्रयास गरेको बताए।

उनले पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकेको बताए। उनले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको बताए।

प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै ओलीले प्रधानमन्त्रीले गोली चलायो भन्नेहरू बेवकुफ वा अपराधी भएको बताए। ओलीको यो अभिव्यक्ति भदौ २३ गतेको जेन–जी प्रदर्शन तथा हिंसात्मक घटनासँग सम्बन्धित छ। जसमा प्रदर्शनकारीहरूको आक्रमण, आगजनी तथा प्रहरीको कारबाहीका क्रममा दर्जनौंको ज्यान गएको थियो।

सो घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले पटक–पटक गोली चलाउने आदेश नदिएको दाबी गर्दै आएका छन् भने छानबिनको माग पनि गरेका छन्। अध्यक्ष ओलीले झुटको प्रचार गर्नेहरूले विभिन्न आरोप लगाइरहे पनि यथार्थ कुरा आम नागरिकलाई बुझाउन सक्नुपर्ने बताए।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर