

काठमाडौं- जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड लुटपाट र आगजनीमा परेको भाटभटेनी सुपरस्टोरको कोटेश्वर सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

आगलागीबाट क्षतिग्रस्त भएका विभिन्न आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ । आन्दोलनका क्रममा भाटभाटेनीका १२ विभिन्न सुपरस्टोर क्षतिग्रस्त बनेका थिए।
‘यो पुनः सञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट रूपमा प्रतिविम्बित गर्दछ,‘ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडलले यस्तो घटनाबाट प्रभावित भए पनि भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाको सहयोग र विश्वासका कारण छिटो पुनरुत्थानको बाटोमा अघि बढ्न सफल भएको बताए।
‘कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोर पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने हाम्रो तयारी छ,‘ उनले भने।
भाटभाटेनीले यसअघि गत मङ्सिरमा बालुवाटारमा रहेको गोदामघर पनि मर्मतपश्चात् पुनः सञ्चालनमा ल्याएको थियो। आगजनी तथा तोडफोडमा परेका बाँकी सबै स्टोरको पुनर्निर्माण जारी रहेको कम्पनीले जनाएको छ।


