

सर्लाही- सर्लाहीको लालबन्दी बजारस्थित छिमेक लघुवित्त वित्तीय संस्थामा बिहीबार लुटपाट भएको छ । लालबन्दी नगरपालिका ७ मा रहेको लघुवित्तको शाखा कार्यालयमा बिहीबार अपरान्ह ४ बजेतिर मुखमा कालोपट्टी बाँधेर आएका चाररपाँच जना मानिसले लुटपाट गरेका हुन् ।

प्रहरीका अनुसार नकापधारी अपरिचित मानिसले संस्थाका सदस्य हरिवन नगरपालिका–१०, की कल्पना थापाले ऋण निकालेर बाहिर निस्कँदै गर्दा उहाँको साथबाट ८५ हजार र लघुवित्तका कर्मचारीको साथमा रहेको दुई हजार रुपियाँ लुटेर फरार भएका छन् ।
लुटेरा समूहले कर्मचारी र संस्थामा ऋण निकाल्न आएका सदस्यलाई चक्कु देखाएर लुटपाट गरी फरार भएका प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट बैंकका एक जना कर्मचारी सामान्य घाइतेसमेत हुनुभएको छ ।

नकापधारी लुटेरा समूहले कर्मचारीलाई भित्रै थुनेर सीसीटिभीको हार्डडिक्ससमेत लुटेर लगेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो । डिएसपी राईले लुटपाटको सम्बन्धमा अनुसन्धान जारी रहेको बताउनुभयो ।
प्रहरीले शुक्रबार बिहान घटनामा संलग्नको पहिचान हुन नसकेको जनाएको छ । डिएसपी राईले भन्नुभयो, “हामी अनुसन्धानमै छौँ, अहिलेसम्म त कोही पनि पक्राउ परेको अवस्था छैन ।”
जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा लुटपाटको घटना भएपछि बैंक तथा वित्तीय क्षेत्र र सर्वसाधारणमा त्रास सिर्जना भएको छ ।


