

झापा – जिल्ला प्रशासन कार्यालय झापाले भ्रामक समाचार फैलाउनेलाई कारबाही गरिने जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको पाइएकाले ती भ्रामक समाचार फैलाउने व्यक्ति वा समूहको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइसकिएको जनाएको हो।
जारी सूचना अनुसार झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ मा रहेको कमल गाउँपालिका वडा नं.२ स्थित क्याम्पा बजारमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र शाह (बालेन)को सम्पर्क कार्यालय रहेको घरको दक्षिणतर्फको घरधनी बसोवास गर्दै आएको कोठाको झ्यालको सिसा माघ २१ गते राति अन्दाजी १२: १५ बजे ढुङ्गाले हानी फुटाएको कुराको जाहेरी परी कारबाहीको प्रकृया अघि बढाइसकिएको छ।

‘उक्त घटनाको सम्बन्धमा एआइको दुरूपयोग गरी वास्तविक घटना स्थितिभन्दा फरक पारी गम्भीर प्रकृतिको तोडफोड भएको देखिने तस्वीर बनाइ सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको पाइएकाले उक्त भ्रामक समाचार फैलाउने व्यक्ति वा समूहको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइसकिएको र यस प्रकारका भ्रामक समाचार प्रचार प्रसार गर्ने जोसुकैलाई प्रचलिन कानून बमोजिम कारबाही गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ।


