Aamsanchar

पुलिसलाई हराउँदै झापा ११ झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

Author Image
शनिवार, माघ २४, २०८२

फोटो: बिनोद पाण्डे/आमसंचार

बिर्तामोड । घरेलु समर्थकको हुटिङ, अन्तिमसम्म नछोड्ने आत्मविश्वास र निर्णायक क्षणमा देखाएको धार—यिनै कारणले आयोजक टिम झापा–११ फुटबल क्लब एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण) को क्वार्टर फाइनलमा स्थान बनाउन सफल भएको छ ।

डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा झापा–११ ले विभागीय टिम नेपाल पुलिस क्लब लाई २–१ ले पराजित गर्दै पहिलो चरण पार ग¥यो । सुरुवातमै गोल खाएको झापाले खेलमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलको १२ औँ मिनेटमै पुलिसले अग्रता बनाएको थियो । धीरेन्द्र साहको क्रसमा जोन विष्टले वान–टच प्रहार गर्दै झापाको पोस्ट हल्लाएका थिए । तर त्यसपछि झापा खेलमा क्रमशः फर्कियो ।
पहिलो हाफको इन्ज्युरी समयमा राजेश दाहालको प्रहारलाई सदुपयोग गर्दै शिशिर लेखीले बराबरी गोल गरेपछि खेलको लय नै परिवर्तन भयो ।

दोस्रो हाफमा झापाले आक्रामक दबाब बढायो । ५९ औँ मिनेटमा शिशिर लेखीको फ्रिकिकमा राजेश दाहालले हेडरमार्फत निर्णायक गोल गर्दै झापालाई अग्रतामा पु¥याए । यही गोल नै झापाको जितका लागि निर्णायक बन्यो ।

पुलिसले अवसर भने नपाएको होइन । ३५ औँ मिनेटमा विजय उराउ, ५२ औँ मिनेटमा वीरेन्द्र साह र ५७ औँ मिनेटमा गोलकिपर अगाडि बढेको अवस्थाको अवसर सदुपयोग गर्न नसक्दा पुलिस प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । झापाका गोलकिपर सन्दिप लिम्बुको उत्कृष्ट बचाउ पनि पुलिसका लागि अवरोध बन्यो ।

झापातर्फ एरोन थापा मगरको ४१ औँ मिनेटको हेडर क्रसबारमा ठोक्किँदा घरेलु दर्शक सास रोकिएजस्तै भएका थिए । समग्रमा टेक्निकल र अनुशासित खेल खेलेको झापाले पुलिसलाई अधिकांश समय दबाबमा राख्यो ।

खेलको प्लेयर अफ द म्याच झापाका निर्णायक गोलकर्ता राजेश दाहाल घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

अब प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन् । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । विधागत पुरस्कारतर्फ उत्कृष्ट प्रशिक्षक, हाइ स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपालका विभागीय र ‘ए’ डिभिजन क्लबसँगै विदेशी टिमहरूको सहभागिताले झापा गोल्डकपलाई अन्तर्राष्ट्रिय रङ दिएको छ । प्रतियोगितामा नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, मछिन्द्र, चर्च ब्वाइज, झापा–११ सहित भारत, भुटान र मलेसियाका क्लब सहभागी छन् ।

यसैबीच, प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं ले गरेकी थिइन् । उनले रंगशालाको संरचना विकासमा नगरपालिका तयार भए पनि जग्गा स्वामित्वको विवादले लगानी अवरुद्ध भएको बताइन् ।

आयोजक समितिका अध्यक्ष केदार गिरी ले झापा गोल्डकप नेपाली फुटबललाई एकताको सूत्रमा बाँध्ने अभियान भएको बताए । प्रतियोगिताका संरक्षक जलकुमार गुरुङ ले झापा गोल्डकपले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउँदै गएको उल्लेख गरे ।

उद्घाटन समारोहमा रंगशालाका जग्गादाता परिवारकी छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरियो । डोमालाल राजवंशीको शालिक अनावरणसँगै, पूर्व अध्यक्ष विनोद बस्नेतको स्मृतिमा पूर्वेली युथ क्लबले मार्चपास प्रस्तुत गरेको थियो ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर