

काठमाडौँ – दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको अन्त्येष्टि भोलि आइतबार मात्र हुने भएको छ ।
थापाको परिवार मुम्बईबाट आउन ढिला भएका कारण उनको अन्त्येष्टि भोलि मात्र हुने भएको हो ।

परिवारजन शनिबार दिउँसै नेपाल आउने बताइए पनि साँझ नआइपुगेका कारण आज अन्त्येष्टि हुन नसकेको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । अन्त्येष्टिअघि थापाको शव अन्तिम श्रद्धाञ्जलिका लागि केही समय चलचित्र विकास बोडमा राखिने निरौलाले जानकारी दिए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
हृदयाघातका कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको थियो ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
नेपाली चलचित्रमा ‘खलनायकुको भूमिकालाई पनि नायकसरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’को नामले चर्चित थिए । यो परिचय उनले फिल्म ‘चिनो’बाट पाएका हुन् । बलिउड फिल्ममा व्यस्त रहेका उनी चिनो अभिनय गर्न नेपाल आएका थिए । त्यसपछि उनले लगातार नेपाली फिल्म अभिनय गरेका थिए । उनी अभिनित फिल्म ‘पहाड’ प्रर्दशनको तयारीमा छ ।


