

महोत्तरी – जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला माध्यमिकी परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाएको छ ।

परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो ।
मिथिला क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै परिक्रमाको रुट तथा प्रमुख पडावस्थल वरपर करिब एक किलोमिटर क्षेत्रभित्र मासु तथा मदिराको कारोबारमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार फागुन ७ र ८ गते मटिहानी नगरपालिका क्षेत्र, फागुन ८ र ९ गते जलेश्वर नगरपालिका–४ सुगा, वडा नं। ६ खबोली तथा वडा नं। ७ र ८ क्षेत्र, फागुन ९ र १० गते महोत्तरी गाउँपालिका क्षेत्र, फागुन १० र ११ गते बलवा नगरपालिका–३ तथा धबकुन्ड क्षेत्र र फागुन ११ र १२ गते लोहरपट्टी नगरपालिका तथा भंगहा नगरपालिकाको कञ्चनवन पडावस्थल आसपासमा प्रतिबन्ध लागू हुनेछ ।
उक्त अवधिमा सम्बन्धित क्षेत्रमा रहेका कुनै पनि होटल, पसल वा खुला स्थानबाट मासु तथा मदिराको बिक्री–वितरण गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ । साथै परिक्रमा मार्गमा पर्ने मासु पसलहरूलाई तोकिएको समयसम्म अनिवार्य रूपमा बन्द राख्न निर्देशन दिइएको छ ।
प्रशासनको निर्देशनको उल्लंघन गरी मासु वा मदिराको कारोबार तथा सेवन गरेको पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
मिथिला क्षेत्रमा प्रत्येक वर्ष होलीको दुई साता अघि यो परिक्रमा सुरु हुन्छ । १५ दिने परिक्रमा अन्तर्गत जनकपुरधामस्थित हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चन वन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाको धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किने चलन छ । त्यसपछि जनकपुरधामस्थित पाँच कोशे अन्तरगृह परिक्रमा गर्दै यो परिक्रमा सम्पन्न गरिन्छ ।


