बिर्तामोड, झापा ।
चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको खेलमा आर्मीले लालिगुराँस एसोसिएसन पोखरालाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

आर्मीका लागि टाइब्रेकरमा नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे । पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गर्न सके । पोखराका लक्षु थापाको प्रहार बाहिरिएको थियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै असफल बनाए ।
खेलको पहिलो हाफमा पोखराले आर्मीमाथि दबाब कायम राखेको थियो । ३०औँ मिनेटमा मुकुन्दकुमार न्युरोले वान भर्सेस वानको अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा भने आर्मीले सुधारिएको प्रदर्शन प्रस्तुत गर्दै खेलमा फर्किने प्रयास ग¥यो ।

७९औँ मिनेटमा आर्मीका जर्जप्रिन्स कार्कीले हानेको पावरफुल सट पोखराका गोलकिपर अनिस महतोले पञ्च गर्दै बचाए । इन्ज्युरी समयमा जिलेस्पीजंग कार्कीको नजिकको प्रहार र जर्जप्रिन्सको हेडर क्रसबारमा लागेर बाहिरिँदा आर्मी गोल गर्नबाट चुक्यो ।


खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
बुधबार हुने अर्को खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेज आमनेसामने हुनेछन् ।
यसैबीच, टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलइडी टिभी जितेका छन् । बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रतियोगिताका प्रत्येक खेलमा एकजना दर्शकलाई टेलिभिजन प्रदान गर्दै आएको छ ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिने दर्शकमध्ये एकजनालाई यामाहा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।
फोटो : बिनोद पाण्डे/आमसंचार


