Aamsanchar

कीर्तिपुर मैदानमा अष्ट्रेलिया, भारत, इङ्ल्यान्डजस्ता ठूला टिमलाई स्वागत गर्न आतुर छौं : कप्तान पौडेल

Author Image
मङ्गलवार, माघ २७, २०८२

मुम्बई – नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले इङ्ल्यान्डसँगको खेलपछि नेपाली टिमको समर्थन गर्दै पूर्व खेलाडी तथा फ्रेन्चाइजले गरेको प्रशंसा प्रशंसनीय भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा जति तारिफ नेपाली टिमले बटुलिरहेको छ, त्यति नै मैदानमा र व्यवहारमा पनि देख्न पाएको बताए।

 

इटालीसँगको खेल अगाडि टेष्ट राष्ट्रहरूसँग नेपालमा खेल्न कतिको तयार छ भन्ने प्रश्नमा उनले भने, ‘कीर्तिपुर मैदानमा अष्ट्रेलिया, भारत तथा इङ्ल्यान्ड जो आए पनि हामी नेपालमा स्वागत गर्न तयार छौं। उनीहरूले त्यहाँ खेल्न मन पराउनेछन्।’ यो सम्भव होला भन्ने पत्रकारको प्रतिप्रश्नमा उनले थपे, ´म निकै आशावादी छु।’

 

इङ्ल्यान्डसँगको खेलपछि भारत तथा विश्वका केही चर्चित फ्रेन्चाइज टिमहरूले नेपालको खेलको तारिफ गरेका थिए। जसमा प्रायः आइपीएल टिमले बधाइ र प्रशंसाको ओइरो लगाएका थिए। यहि विषयमा एक भारतीय पत्रकारले रोहितलाई बधाइ दिँदै फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई विश्वास गर्लान् भनेर सोधेका थिए। ‘मलाई लाग्छ, आइपीएलको टिमहरूले १र२ जना खेलाडीलाई चाहिँ लिन्छन्,ु उनले भने।

 

नेपालले हालसम्म एकमात्र टेष्ट राष्टसँग सिरिज खेल्ने मौका पाएको छ। नेपालले पछिल्लो विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँगको खेलपछि पनि अहिलेकै जस्तो तारिफ बटुलेको थियो। तर, तारिफ सामाजिक सञ्जालमा नै सीमित रहेको थियो। यसमा रोहितले यसपटक केही फरक हुन्छ कि भन्ने आशा राखे। ‘हामीले २०२४ को विश्वकपपछि जति तारिफ पायौं, त्यति मौका पाएनौं। हाम्रो लागि टेष्ट राष्ट्रसँग खेल्ने अनुभव र एक्सपोजर निकै महत्वपूर्ण हुन्छ। हामीले उनीहरूका अगाडि हामीलाई परीक्षण गर्ने मौका पाउँछौं। आशा छ, यो विश्वकपपछि हामीले केही सिरिजहरू पाउनेछौं।’

त्यस्तै वेष्ट इन्डिजका मुख्य प्रशिक्षक ड्यारेन सामीले जुनसुकै टिमले खेले पनि आफूहरूले यो खेलको विकासमा सहयोग गर्ने बताए। उनले भने, ुएशोसियट राष्ट्रहरूसँग खेल्दा उनीहरूलाई उनीहरूको स्तर थाहा हुन्छ। उनीहरूले आफूलाई परीक्षण गर्ने मौका पाउँछन्। उनीहरूलाई एक्सपोजरको मौका हुन्छ। यो क्रिकेट विकासको लागि महत्वपूर्ण हुन्छ।’

Views: 65

प्रतिक्रिया (०)