बिर्तामोड। झापाको पूर्वी नाका काँकडभिट्टामा लागुऔषध सेवन गरेर सवारी साधन चलाउने १३ जना चालकलाई प्रहरीले कारबाही गरेको छ। मोटरसाइकल, सिटी सफारी र अटो चालक गरी शंका लागेका २९ जनाको परीक्षण गर्दा १३ जनामा विभिन्न प्रकारका लागुऔषध सेवन गरेको पुष्टि भएको हो।

कारबाहीमा परेकामध्ये २ जना महिला चालक पनि रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी बसुन्धरा खड्काको नेतृत्वमा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख निशेष चापागाईं सहितको टोलीले संयुक्त रूपमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो। आज गरिएको चेकजाँचका क्रममा चालकहरूको पिसाब परीक्षण (ड्रग स्क्रिनिङ) गरेर लागुऔषध प्रयोगकर्ता पहिचान गरिएको प्रहरीले जनाएको छ। परीक्षणमा पोजेटिभ देखिएका चालकहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध सेवनपछि सवारी चलाउने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि पूर्वी नाकासहित जिल्लाका विभिन्न स्थानमा चेकजाँच कडाइ गरिएको हो। सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षाको प्रत्याभूति तथा सामाजिक विकृति नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तरता दिइने प्रहरी प्रमुख खड्काले बताएकी छन्। झापामा लागूऔषध नियन्त्रणका लागि प्रहरीले लायन्स क्लव अफ मेचीनगर, विद्यालय, यातायात व्यवसायी र स्थानीय तहसँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।
प्रहरीको सक्रियताले सडक अनुशासन कायम राख्न र समाजमा फैलँदै गएको लागूऔषध दुव्र्यसन नियन्त्रणमा सकारात्मक सन्देश दिएको सरोकारवालाहरूले बताएका छन्। प्रहरीले सवारी चालकहरूलाई लागूऔषध सेवन नगर्न, जिम्मेवार भएर सवारी चलाउन तथा कानुनको पालना गर्न आग्रह गरेको छ ।



