धरान । सर्दु खोला स्थित श्रम संस्कृति पार्कमा बज्दै आएका व्यक्तिको स्तुति तथा भक्ति गीत बन्द गर्न धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले निर्देशन दिएका छन्।

बुधबार कर्मचारीलाई निर्देशन दिँदै उनले सार्वजनिक सम्पत्तिमा कुनै पनि व्यक्तिको प्रशंसामूलक गीत बजाउनु उपयुक्त नहुने स्पष्ट पारे। अब पार्कमा राष्ट्रभक्ति तथा धरानको पहिचान झल्किने गीत मात्र बजाइने उनले बताए। “पहिला चल्थ्यो होला, अब चल्दैन। उपमहानगरपालिकाको ऐन, नियम अनुसार मात्र काम हुन्छ,” उनले भने।

यसअघि पूर्व नगरप्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत पार्कमा आफ्नो गीत नबजाउन दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका थिए। सोही सन्दर्भमा पुनः व्यक्तिगत गीत बजाउन मौखिक आग्रह गरिएको जानकारी पाएपछि कावा प्रमुख बेघाले नीति अनुसार अघि बढ्ने अडान दोहो¥याएका हुन्।
उनले श्रम संस्कृति पार्क देश–विदेशमा रहेका नेपालीहरूको श्रम र लगानीबाट बनेको साझा सम्पत्ति भएकाले यसलाई कसैको व्यक्तिगत प्रचारको थलो बनाउन नहुने बताए। घण्टाघर र सप्तरङ्गी पार्कजस्ता सार्वजनिक स्थानमा पनि कुनै व्यक्तिको निजी गीत नबजाइने उदाहरण उनले दिए।

यसैबीच, सो विषयमा समाचार संकलन गर्न पुगेका एक पत्रकारलाई पार्कका कर्मचारी अस्मिता चाम्लिङले दुव्र्यवहार गरेको आरोपसमेत लागेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


