Aamsanchar

टी–२० विश्वकप : इटलीसँग नेपालको लज्जास्पद हार, दर्शक निराश

Author Image
बिहिवार, माघ २९, २०८२

काठमाडौं – टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

पहिलो खेलमा इङल्याण्डसँग ४ रनको झिनो पराजय भोगेको नेपालले दोस्रो खेलमा बिहीबार इटलीसँग १० विकेटको फराकिलो हार बेहोरेको हो।

नेपालले दिएको १ सय २४ रनको लक्ष्य इटलीले विना क्षति १२ ओभर ४ बलमा पूरा गरेको हो। इटलीका एन्थोनी मोस्का ६२ र जस्टिन मोस्का ६० रनमा अविजित रहे।

यसअघि मुम्बइको वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल ३ बल बाँकी छँदै १ सय २३ रनमा अलआउट भएको थियो।

नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए। नन्दन यादव र ललित राजवंशी शून्यमा आउट हुँदा करण कर्सी १८ रनमा नटआउट रहे।

दोहोरो स्कोरमा रन बनाउन नसकेका खेलाडीहरु लोकेश बम र गुल्सन झा समान ३ रनमा पेभेलियन फर्किँदा कुशल भुर्तेल र सन्दीप लामिछाने समान ५ रनमा आउट भएका थिए।

नेपालले टी–२० आईमा पहिलो पटक इटलीको सामना गरेको नेपालले पहिलो खेलमै पराजयै भोगेको हो। ५० ओभरको खेलमा भने नेपाल र इटली ३ पटक आमनेसामने भइसकेका छन्।

इटलीसँग भएका तीनै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको थियो।

नेपालले दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि खेल्न बाँकी छ। यस विश्वकपमा पाँच–पाँच टिम रहेको प्रत्येक समूहबाट शीर्ष दुई टिम सुपर आठमा पुग्ने प्रावधान रहेको छ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर