Aamsanchar

मतदान केन्द्रबाहिर झडप हुँदा बीएनपी नेताको ज्यान गयो

Author Image
बिहिवार, माघ २९, २०८२

बङ्गलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता विद्यार्थी नेतृत्वको आन्दोलनले अन्त्य गरेको १८ महिनापछि पहिलो चुनाव सम्पन्न भएको छ । हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित भएकाले यस चुनावमा सहभागी हुन पाएन ।

चुनावमा मुख्य प्रतिस्पर्धा दक्षिणपन्थी बङ्गलादेश नेशनलिस्ट पार्टी र इस्लामवादी जमात–ए–इस्लामीको नेतृत्वमा रहेको गठबन्धनबीच रहेको बीबीसीले जनाएको छ । भोलिसम्म परिणाम आउने अपेक्षा छ ।

२ हजारभन्दा धेरै उम्मेदवार संसदीय सिटका लागि प्रतिस्पर्धामा थिए भने १२ करोड ७७ लाख मतदाता रहेका थिए । मतदाताले संविधान परिवर्तनसम्बन्धी जनमत सङ्ग्रहमा पनि मतदान गरेका छन् ।

मतदानपछि बोल्दै नोबेल पुरस्कार विजेता अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले देशले नयाँ सपना शुरू गरेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

मतदानका क्रममा धेरै ठाउँमा झडप भएको थियो । खुलनाको एक मतदान केन्द्रबाहिर जमात–ए–इस्लामी कार्यकर्ताहरूसँगको झडपमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का नेता मोहिबुज्जमान कोचीको ज्यान गएको छ । यस्तै मुन्सीगञ्ज र गोपालगञ्ज सदर क्षेत्रका मतदान केन्द्रहरूबाहिर झडपमा तीन जना घाइते भएका छन् ।

प्रतिनिधिसभाका कुल ३०० मध्ये २९९ सिटमा चुनाव भएको हो । एक उम्मेदवारको निधन भएपछि शेरपुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित भएको छ । चुनावका लागि झन्डै १० लाख सुरक्षाकर्मी परिचालन भएका थिए ।

Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर