Aamsanchar

विश्व पर्वतारोहण जगतमा ठूलो उपलब्धि : मुस्ताङमा रहेका दुईवटा हिमालको शिखरमा पहिलो मानव पाइला

Author Image
शनिवार, फागुन २, २०८२

काठमाण्डौ – मुस्ताङमा रहेका दुईवटा हिमालमा पहिलो आरोहण सफलतापूर्वक सम्पन्न भएको छ । चिनियाँ पर्वतारोही ही जिङको नेतृत्वमा रहेको आरोहण दलले ६ हजार १ सय ८७ मिटर उचाईको केक्याप री र ६ हजार ६२ मिटर उचाइको ज्याङ्लातुन्पू हिमालको सफल आरोहण गरेको हो ।

आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्स र पेलियटले संयुक्त रूपमा गरेका हुन् । यसअघि यी हिमालको शिखरमा मानव पाइला नपुगेकाले यसलाई विश्व पर्वतारोहण जगतमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस ऐतिहासिक सफलताको प्रशंसा गर्दै नेपालको पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभएको छ । उहाँले यो उपलब्धिले नेपाल पर्वतारोहण र साहसिक पर्यटनका लागि विश्वकै अग्रणी गन्तव्य रहेको कुरालाई फेरि प्रमाणित गरेको बताउनुभयो ।

नेपालमा ६ हजार मिटरभन्दा अग्ला एक हजार तीन सय १० वटा हिमाल रहेकामा सरकारले चार सय ६० देखि चार सय ७० वटा हिमाल आरोहणका लागि खुल्ला गरेको छ । यी मध्ये एक सय भन्दा बढीको शिखरमा अहिलेसम्म मानिस पुगेका छैनन् ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर