Aamsanchar

शिवरात्रिमा पशुपतिको दर्शनमा जाने भक्तजनलाई प्रहरीद्वारा १३ बुँदे अनुरोध जारी

Author Image
शनिवार, फागुन २, २०८२

काठमाडौं-  महाशिवरात्रि–२०८२ को पावन अवसरमा पशुपतिनाथ मन्दिरको दर्शनार्थ जाने भक्तजनहरूको सुरक्षा, सुविधा र सहजतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले १३ बुँदे विशेष अनुरोध जारी गरेको छ।  पशुपति क्षेत्रमा हुन सक्ने अत्यधिक भीडभाड र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले शनिबार दर्शनार्थीहरूका लागि पालना गर्नुपर्ने नियमहरू सार्वजनिक गरेको हो।

प्रहरीले जारी गरेको अनुरोधमा दर्शनार्थीहरूलाई मन्दिर आउँदा बहुमूल्य गरगहना लगाएर नआउन र साथमा महँगा सरसामानहरू नबोक्न विशेष आग्रह गरिएको छ। पशुपति क्षेत्रको वातावरण र निर्धारित मापदण्ड अनुसार प्लास्टिकका झोला, कप, प्लेट आदिको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै, दूध वा गंगाजल जस्ता सामग्री ल्याउँदा टुटफुट हुने काँचका भाँडाहरू प्रयोग नगर्न समेत सचेत गराइएको छ।
मन्दिरको आन्तरिक सुरक्षा र मर्यादालाई कायम राख्न पशुपतिनाथको प्राङ्गणभित्र सबै प्रकारका मोबाइल फोन र क्यामेराको प्रयोग निषेध गरिएको छ। यसैगरी, छालाका सामानहरू जस्तै जुत्ता, चप्पल, ज्याकेट र कम्मरपेटी लगाएर मन्दिर प्रवेश गर्न नपाइने भएकाले त्यस्ता सामग्रीहरू तोकिएको सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न प्रहरीले अनुरोध गरेको छ।

भक्तजनको सुविधाका लागि प्रत्येक दर्शन मार्गमा छुट्टाछुट्टै जुत्ता-चप्पल कक्षको व्यवस्था गरिएको छ। भीडभाड व्यवस्थापनका लागि प्रहरीले दर्शनार्थीहरूलाई पङ्क्तिबद्ध भएर दर्शन गर्न र अरूको अधिकार हनन हुने कुनै पनि व्यवहार नगर्न आग्रह गरेको छ।

मन्दिर दर्शनका लागि कुनै पनि प्रकारको विशेष टिकट वा पासको व्यवस्था नगरिएकाले सबैलाई समान रूपमा लाइनमा बसेर दर्शन गर्न र दर्शन सकिएपछि तुरुन्त परिसर बाहिर निस्कन भनिएको छ। शारीरिक रूपमा असक्त र ज्येष्ठ नागरिकहरूलाई सहज दर्शनको निम्ति सहयोग पुर्‍याउन पनि सर्वसाधारणलाई अपिल गरिएको छ।

सुरक्षाको दृष्टिकोणले पाकेटमाराहरू सक्रिय हुन सक्ने भएकाले आफ्नो सामानको सुरक्षा आफैं गर्न र सजग रहन प्रहरीले सचेत गराएको छ। यदि कुनै तीर्थयात्री अस्वस्थ भएमा परिसरभित्रै सञ्चालित स्वास्थ्य शिविरमा सम्पर्क गर्न र कुनै सामान वा व्यक्ति हराएमा वा अन्य कुनै समस्या परेमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा जानकारी गराउन भनिएको छ।

मन्दिर र मेला क्षेत्रलाई स्वच्छ राख्न जथाभाबी फोहोर नगरी निर्दिष्ट स्थानमा रहेका शौचालयहरूको मात्र प्रयोग गर्न समेत प्रहरीले सबैमा अनुरोध गरेको छ। शिवरात्रि आइतबार परेको छ ।

Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर