Aamsanchar

शिवरात्रिको महिमा : उपवास, आराधना र आत्मशुद्धिको पर्व

Author Image
शनिवार, फागुन २, २०८२

झापा । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ । भगवान् शिवको विशेष आराधना गर्ने दिनका रूपमा मनाइने यस पर्वमा भक्तजनहरू रातभर जाग्राम बसी पूजा, भजन–कीर्तन तथा ध्यानमा लीन हुन्छन् ।

नेपालको प्रमुख शिवधाम पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । भक्तजनहरूले शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र अक्षता चढाई भगवान् शिवको कृपा प्राप्त हुने विश्वास गर्छन् ।

धार्मिक मान्यताअनुसार आजको दिन उपवास बस्दा पाप क्षय हुने, मनोकामना पूरा हुने तथा आत्मशुद्धि प्राप्त हुने विश्वास गरिन्छ । पुराणहरूमा वर्णित कथाअनुसार यसै रात भगवान् शिवले ताण्डव नृत्य गरेको तथा शिव–पार्वतीको दिव्य विवाह सम्पन्न भएको मानिन्छ ।

शिवरात्रिमा विशेषगरी साधु–सन्तहरूको जमघट हुने गर्दछ । उनीहरू धुनी बालेर तपस्यामा बस्ने, भस्म लगाउने र भगवान् शिवको स्तुति गर्ने परम्परा छ । युवादेखि वृद्धसम्मको सहभागिताले पर्वलाई झनै जीव्त बनाएको छ ।

धर्मविद्हरूका अनुसार शिवरात्रि केवल धार्मिक अनुष्ठान मात्र नभई संयम, सदाचार र आध्यात्मिक जागरणको सन्देश दिने पर्व हो । अन्धकारमाथि प्रकाश र अज्ञानमाथि ज्ञानको विजयको प्रतीकका रूपमा पनि यसलाई लिने गरिन्छ ।

सरकारले पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ भने मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसरी भक्ति, तपस्या र आस्थाको संगम बनेको महाशिवरात्रि नेपाली समाजमा आध्यात्मिक एकता र सांस्कृतिक पहिचानको महत्वपूर्ण पर्वका रूपमा स्थापित छ ।

Views: 23

प्रतिक्रिया (०)