Aamsanchar

पशुपति एकेडेमीको ३६औँ वार्षिकोत्सव सम्पन्न

Author Image
शनिवार, फागुन २, २०८२

झापा – शिवसताक्षी नगरपालिका–८ मा रहेको पशुपति एकेडेमी अंग्रेजी माध्यमिक विद्यालयको ३६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन प्रदेश सांसद राधाकृष्ण खनाल ले पानसमा बत्ती बालेर गर्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त अवसरमा संस्थाकी सदस्य कल्पना पौडेल, भूतपूर्व विद्यार्थी कृष्ण राई, हिसान केन्द्रीय सदस्य गुणराज अधिकारी तथा हिसान झापा अध्यक्ष टेकनाथ भण्डारी लगायतले विद्यालयको विकास र प्रगतिबारे चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
विद्यालयका प्रिन्सिपल चन्द्र प्रसाद खनालले विद्यार्थीहरूको शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै शिक्षामा आधुनिक प्रविधिको प्रयोगलाई कसरी व्यावहारिक रूपमा विद्यार्थीमाझ पुर्‍याउने भन्ने विषयमा प्रकाश पार्नुभयो। उहाँले विद्यालयका उपलब्धि तथा भावी योजनाहरू समेत सार्वजनिक गर्नुभयो।
प्रमुख अतिथिको आसनबाट सांसद खनालले विद्यालयले विज्ञान प्रदर्शनी तथा सिपमूलक शिक्षामार्फत विद्यार्थीमा सृजनशीलता विकास गरिरहेको देख्दा खुसी लागेको बताउनुभयो।
यसै अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिवसताक्षी नगरस्तरमा करातेतर्फ दोस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरू, तेक्वान्दो तथा अन्य खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। साथै आन्तरिक प्रतिस्पर्धाबाट विजयी विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो।
विद्यालयको ३६ वर्षे ऐतिहासिक यात्रालाई विद्यार्थीमाझ पर्वका रूपमा मनाइएको कार्यक्रममा भूतपूर्व विद्यार्थीहरूको मिलन कार्यक्रमसमेत आयोजना गरिएको थियो। सहभागी भूतपूर्व विद्यार्थीहरूलाई मायाको चिनो वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर