Aamsanchar

भारतका प्रधानमन्त्री मोदी चढेको विमान आसामको सडकमा अवतरण

Author Image
आइतवार, फागुन ३, २०८२

काठमाडौं-  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान आसाम राज्यको डिब्रुगढस्थित सडकमा उत्रिएको छ । प्रधानमन्त्री मोदी चढेको भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान शुक्रबार सडकमा अवतरण गरेको हो ।

यसलाई भारतीय मिडियाहरुले ‘ऐतिहासिक क्षण’ भनेका छन् । किनभने पूर्वोत्तर भारतमा हवाई जहाज उत्रिने सुविधायुक्त राजमार्ग बनेको पहिलोपटक हो । यस विशेष खालको राजमार्गमा राफेल लगायतका अन्य लडाकु विमानहरु पनि सहजै अवतरण र उडान गर्न सक्छन् ।

प्रधानमन्त्री मोदी १४ फेब्रुअरीमा चाबुवा हवाई अड्डाबाट उडान भरेर आसामको डिब्रुगढस्थित मोरान बाइपास सडकमा अवतरण गरेका थिए ।

इमरजेन्सी ल्यान्डिङ फेसिलिटी भनेको के हो ?

करिब १०० करोड रुपैयाँ लागतमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ)युक्त सडक करिब साढे चार किलोमिटर लामो छ । यसले भारतीय वायुसेनाका लडाकु र यातायात विमानका लागि रणनीतिक तथा बहुउद्देश्यीय सडकका रूपमा उपयोगमा आउने बताइएको छ ।

इमरजेन्सी ल्यान्डिङ फेसिलिटी भनेको कुनै राज्य वा राष्ट्रिय राजमार्गमा बनाइने विशेष खालको एयरस्ट्रिप हो, जहाँ आपत्कालीन अवस्थामा वायुसेनाका लडाकु अन्य हवाई जहाज पनि उडान गर्न सक्छन् । सामान्य समयमा त्यहाँ गाडीहरु चल्छन्, तर आवश्यक परेमा त्यो सडकलाई विमानस्थलको रन–वेको रुपमा प्रयोग गर्न सकिन्छ । अर्थात् आपत्कालीन अवस्थामा यसले वैकल्पिक विमानस्थलको काम गर्न सक्छ ।

आसामको मोरान बाइपासमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ) एयरस्ट्रिप चीनको सिनामासँग नजिक रहेकाले पूर्वोत्तर क्षेत्रको सुरक्षालाई थप मजबुती दिने अपेक्षा गरिएको छ ।

त्यहाँको एक कार्यमलाई सम्बोधन गर्दै मोदीले आफू विमानबाट रनवेमा नभई हाईवेमा उत्रिएको बताउँदै यो नयाँ इतिहास बनेको बताए । ‘पहिले यो क्षेत्र बिग्रेभत्केका सडक भएको ठाउँको रुपमा चिनिन्थ्यो । अहिले सबैले आसाममा देखे पूर्वोत्तर भारतको सामर्थ्य,’ मोदीले भने ।

 

इमरजेन्सी ल्यान्डिङ फेसिलिटीका फाइदा

युद्धको अवस्थामा यसको आवश्यकता अझ बढी पर्छ । यदि मुख्य हवाई अड्डा वा एयर बेस शत्रुको निशानामा परेमा विकल्पमा यस्ता सडक उपयोगी हुन्छन् । कुनै लडाकु विमान आक्रमणमा परेमा टाढा उडेर मुख्य बेससम्म पुग्नुपर्ने अवस्थाको सट्टा सडकमै बनेको हवाई पट्टीमा सुरक्षित अवतरण गर्न सक्छ । यसका साथै रक्षा, खाद्यान्न आपूर्ति र विपद् राहत कार्यमा पनि यस्तो सुविधा निकै उपयोगी हुन्छ ।

भारत सरकारले राजस्थान, उत्तर प्रदेश, तमिलनाडु लगायतका स्थानमा पनि यस्ता विशेष खालका सडक निर्माण गरिसकेको छ । मोरान ईएलएफ भनिने आसामको सडक पूर्वोत्तर भारत क्षेत्रको पहिलो हो । यो सो क्षेत्रको पूर्वाधार विकाससँग जोडिएको महत्वपूर्ण परियोजना हो ।

भारत सरकारले देशभर २८ वटा यस्ता इमरजेन्सी ल्यान्डिङ फेसिलिटीयुक्त सडक निर्माण गर्ने योजना बनाएको भारतीय मिडिया द भाष्करले जनाएको छ ।

चीनसँग सिमाना जोडिएको पूर्वोत्तर भारत क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै आसाममै कम्तीमा पाँच वटा यस्ता खालका सडक निर्माण गर्ने योजना रहेको बताइएको छ ।

भारतमा पहिलो इमरजेन्सी ल्यान्डिङ फेसिलिटी स्ट्रिप ९ सेप्टेम्बर २०२१ मा राजस्थानको बाड़मेर–जालोर राजमार्ग ९एनएच–९२५ए० मा उदघाटन गरिएको थियो । त्यस अवसरमा भारतीय वायुसेनाको सी–१३० जे सुपर हरक्यूलिस विमान सोही राजमार्गमा अवतरण गरेको थियो ।

नेपालमा पनि थियो हाईवेलाई रनवे बनाउने योजना

 

राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावनमार्गको रूपमा विस्तार गर्ने नवीन योजना नेपालले पनि ल्याएको थियो । तर त्यो कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै भनेकी थिइन्, ‘राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्‍ने धावनमार्गको रूपमा विस्तार गरिनेछ ।’

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको सोही नीति तथा कार्यक्रममा समेटिएको हाईवेलाई रनवे बनाउने योजना बजेटमा पनि समेटिएको थियो ।

तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले २०७६ को जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्दै ‘राजमार्गको कुनै खण्डको दायाँबायाँ खाली क्षेत्र कायम गरी आपतकालीन हवाई अवतरण गर्न सक्ने व्यवस्था मिलाइने’ भनेका थिए । तर यो योजना हालसम्म कागजमै सीमित छ ।

हाल नेपालमा भएकै सडकलाई चौडा पार्ने, नयाँ सडक बनाउने लगायतका काम भने भइरहेको छ ।

Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर