

प्युठान – ९२ वर्षको उमेरमा पनि मोहन विक्रम सिंह चुनावी प्रचार प्रसारमा व्यस्त छन्। राष्ट्रिय जनमोर्चाका महामन्त्रीका रूपमा उनले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल) यसपटक पनि आफ्नै चुनावी मोर्चामार्फत निर्वाचनमा सहभागी भएको छ।

पञ्चायतकालमा प्रतिबन्धित अवस्थामा पनि भूमिगत रूपमा पार्टी सञ्चालन गरेका सिंह चार दशकभन्दा बढी समयदेखि नेतृत्वमा छन्।
२०४६ सालपछि बहुदलीय व्यवस्था आए पनि उनले पार्टी र आफूलाई अर्ध–भूमिगत रूपमै राखेका थिए। यसवीचमा उनले नेतृत्व गरेको पार्टी टुटफुट हुँदै विभिन्न धारमा विभक्त भयो । तर गत साउनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीलाई खुला रूपमा अघि बढाउने र सिंहलाई पनि खुला गर्ने निर्णय गरेपछि उनको प्रत्यक्ष चुनावी सक्रियता बढेको हो।

विगतका निर्वाचनमा प्रत्यक्ष रूपमा मत माग्न कमै देखिने सिंह अहिले मतदातासँग भेटघाट र चुनावी सभामा सक्रिय छन्। प्युठानको दौडधूपपछि उनी अहिले बाग्लुङमा चुनावी कार्यक्रममा व्यस्त छन्।
बाग्लुङमा राष्ट्रिय जनमोर्चाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग तालमेल गरेको छ। यहाँबाट पटक–पटक निर्वाचित भएका चित्रबहादुर केसी यसपटक प्रत्यक्ष उम्मेदवार नभई समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा छन्। बाग्लुङमा पार्टीले कृष्णप्रसाद अधिकारीलाई उम्मेदवार बनाएको छ, जसलाई माओवादी केन्द्रले समर्थन गरेको छ। उनी विद्यार्थी संगठनमा सक्रिय हुँदै राजनीतिमा होमिदै पार्टीको नेतृत्व तहमा रहेर भुमिका निर्वाह गरेका नेता हुन ।
प्युठानमा भने पार्टीले तिलकबहादुर जिसी लाई उम्मेदवार बनाएको छ। २०७० मा समानुपातिक सांसद बनेकी दुर्गा पौडेल २०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् र २०७९ मा पाँचदलीय गठबन्धनबाट उठ्दा पराजित भइन्। पटक(पटक श्रीमतीलाई उम्मेदवार बनाएको भन्दै सिंहको आलोचना समेत भएको थियो।
राष्ट्रिय जनमोर्चाले गणतन्त्रपूर्ण रूपमा संस्थागत नभएको र संघीयता नेपालका लागि आवश्यक नरहेको धारणा अघि सार्दै आएको छ। साथै, सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी लाई अमेरिकाबाट परिचालित भएको आरोप लगाउँदै राजनीतिक स्थायित्वको आवश्यकता औंल्याउँदै आएका छन्।
उमेरले विश्राम लिनुपर्ने समयमा पनि देश, राजनीति र विचारप्रति उनको निरन्तर सक्रियता धेरैका लागि प्रेरणाको स्रोत बनेको प्रगतिशिल पत्रकार संघ प्युठानका उपाध्यक्ष जुसमानसिंह केसीको भनाई छ । ‘सादगी जीवनशैली, अध्ययन गर्ने बानी र राजनीतिक क्रियाशिल साँच्चिकै उदाहरणीय छ’ ,उनले भने, ‘यो उमेरमा समेत देशको भविष्य प्रति चिन्ता गर्ने उनको बानीले पार्टीका नेता कार्यकर्तालाई ऊर्जा मिल्ने गरेको छ ।’


