Aamsanchar

रास्वपाको ‘करार पत्र’मा देखिएको औँठाछाप रहस्यः अक्षरले बनेको कलात्मक प्रतीक

Author Image
सोमवार, फागुन ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको ‘करार पत्र’ मा देखिएको औँठाछापजस्तो चिन्हबारे फैलिएको जिज्ञासाको वास्तविकता बाहिर आएको छ। सामाजिक सञ्जालमा उक्त फिङ्गरप्रिन्ट कसको हो भन्ने बहस भइरहेका बेला त्यो कुनै व्यक्तिको वास्तविक औँठाछाप नभई कलात्मक रूपमा बनाइएको ग्राफिक डिजाइन भएको स्पष्ट भएको हो।

करार पत्रको अन्तिम भागमा ‘ऋणीको दस्तखत’ शीर्षकमुनि राखिएका दुई साना आकृतिले सार्वजनिक भएलगत्तै ध्यान खिचेका थिए। सामान्य दृष्टिमा औँठाछापजस्तै देखिने ती चिन्ह सानो आकारका कारण नजिकबाट हेर्दा वा जुम गर्दा पनि स्पष्ट नदेखिएपछि विभिन्न अड्कलबाजी सुरु भएको थियो।

पार्टी निकट स्रोतका अनुसार ती आकृतिहरू वास्तवमा सूक्ष्म अक्षरहरूको संयोजनबाट बनाइएका हुन्। औँठाछापको आकारमा सजाइएका ती अक्षरहरूभित्र पार्टीका प्रमुख नीति, विचार र प्रतिबद्धताहरू समेटिएका छन्। यसरी रास्वपाले आफ्नो एजेन्डालाई प्रतीकात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।

यसअघि सार्वजनिक गरिएको प्रचारात्मक भिडियोमा करार पत्रको मुख्य अंश धमिलो (ब्लर) बनाएर देखाइएको भए पनि औँठाछापजस्ता चिन्ह भने प्रस्ट राखिएको थियो, जसले थप चासो बढाएको थियो।

उक्त सूक्ष्म अक्षरहरूमा बहुलवादी लोकतन्त्र, सुशासन, सामाजिक न्यायसहितको अर्थतन्त्र, समावेशी समाज, सांस्कृतिक सहअस्तित्व र सार्वभौमिकतामा आधारित परराष्ट्र नीतिजस्ता विषय समेटिएका छन्।

यसबाट स्पष्ट हुन्छ कि करार पत्रमा रहेको औँठाछापजस्तो प्रतीक कुनै व्यक्तिको पहिचान होइन, बरु पार्टीका आधारभूत सिद्धान्त र एजेन्डालाई कलात्मक रूपमा अभिव्यक्त गरिएको एक साङ्केतिक प्रस्तुति हो। श्रोत:टेकपाना

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर