
काठमाडौं – तामाङ समुदायले आज सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन्।

आज घरघरमा पुजापाठ, शुभकामना आदानप्रदान तथा विभिन्न कार्यक्रम गरी मनाउन लागेका हुन्। विक्रम सम्वतको पात्रोअनुसार एक महिनाअघि माघ ५ गते नै सार्वजानिक विदा दिए पनि चन्द्रमासमा आधारित मञ्जुश्री पात्रो अनुसार मलमासका कारण सोनाम ल्होछार २८६२ आज सुरु भएको हो।

एक महिना अगाडिदेखि सांस्कृतिक सामूहिक कार्यक्रम गर्दै आएको तामाङ समुदायले आज घरघरमा पूजापाठलगायतका कार्यक्रम गरी वर्ष नयाँ वर्ष ता अर्थात घोडा वर्षलाई स्वागत गरेका नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए।
यसै अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले आज बौद्धमा विषेश कार्यक्रम आयोजना गरेको छ । यो वर्ष सर्प वर्षलाई विदाइ गरी ता (घोडा) वर्षको स्वागत गरिएको छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन(मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ।
नेपालका तामाङलगायत हिमाली समुदायले मनाउने यो ल्होछार नयाँ वर्षका रुपमा चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि एकैपटक मनाउने गरिन्छ। नेपालका शेर्पा समुदायले भने भोलि ग्याल्पो लोसारको रुपमा मनाउँदैछन्। सरकारले भोलि सार्वजानिक विदा दिएको छ।


