

झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् ।

झापामा ९० जना उम्मेदवारहरु रहेकोमा ६२ जनाले खाता खोलेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो । निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरुले अनिवार्य बैंक खाता खोल्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्ने व्यवस्था रहेको छ ।
नेपालका अनुसार झापामा मंगलबारसम्मको रेकर्डअनुसार २८ जना उम्मेदवारले अझैसम्म छुट्टै निर्वाचन खाता खोलिसकेको छैनन् । नेपालको अनुसार झापा क्षेत्र नंं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह, राप्रपा अध्यक्ष एवं झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देन, झापा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार निवर्तमान सभामुख देवराज घिमिरे र ईन्दिरा रानामगरलगायतले खाता खोल्नु भएको छ ।

निर्वाचन आयोगले खर्च पारदर्शी बनाउन र नगद कारोबार नियन्त्रण गर्न यस्तो प्रावधान अनिवार्य गरेकाले सबै उम्मेदवारहरुलाई बारम्बार खाता खोल्नका लागि आयोगले ताकेता गरेको नेपालले जनाउनुभयो । केही साना राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारहरुले खाता नखोलेको बताइएको छ ।
आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा अनिवार्य रूपमा छुट्टै खाता खोल्नु पर्नेछ । सम्पूर्ण चुनावी खर्च सोही खाताबाट मात्र गर्न पाइने व्यवस्था गरिएको छ । साथै, उम्मेदवारले आफ्नो तर्फबाट खर्च व्यवस्थापन गर्ने एकजना अख्तियार ब्यक्ति तोक्नुपर्नेछ ।
उक्त पदाधिकारीको नाम, ठेगाना र विवरण निर्वाचन अधिकृतको कार्यालय तथा सम्बन्धित निर्वाचन कार्यालयमा अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ । राजनीतिक दलका हकमा पनि समान व्यवस्था लागू हुने जनाइएको छ । दलले पनि निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च छुट्टै बैंक खातामार्फत गर्नुपर्नेछ । दलले तोकेको जिम्मेवार अख्तियार प्राप्त ब्यक्तिले मात्र उक्त खाताबाट खर्च गर्न पाउनेछन् ।


