

काठमाडौं – मलेसियाबाट आएको अवैध गाँजा लिनका लागि भारतको दिल्लीबाट काठमाडौं आएका ४ भारतीय नागरिक पक्राउ परेका छन्। १३ केजी ३३० ग्राम मलेसियन गाँजा लिनका लागि ४ जना भारतीय नागरिक दिल्लीबाट काठमाडौं ओर्लिएका थिए।

यही फागुन ५ गते साँझ ८ बजे उनीहरू एयर इन्डियाको विमानबाट काठमाडौं आएका थिए। उनीहरूको उद्देश्य भने फरक थियो। दिल्लीमै चिनेजानेका मानिसले उनीहरूलाई टिकट काटेर नेपाल पठाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार विमानस्थलको भन्सार चेकिङ एरियामा उनीहरूले शंकास्पद गतिविधि देखाएका थिए। त्यहीको ट्वाइलेट पसेका उनीहरू एक घण्टासम्म पनि बाहिर ननिस्किएपछि प्रहरीले निगरानी गरेको थियो। उनीहरूले मलेसियाबाट आएको सामान लिनको लागी करिब १० बजेसम्म त्यही बसेका थिए। जब मलेसियन एयरलाइन्सको जहाज आयो, लगेजमा आएको गाजासहितको एक एकवटा ब्याग उनीहरूले समातेका थिए।

मलेसियाबाट आएको लगेज बोकेर बाहिर निस्कने क्रममा विमानस्थलको एक्सरे मेसिनमा उनीहरूको झोलामा प्रतिबन्धित लागुऔषध गाँजा भेटिएको थियो। उनीहरूलाई विमानस्थलको आगमन टर्मिनल गेट नजिकबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार, भारतीय नागरिकहरू गाँजा बोक्नका लागि प्रयोग भएका भरिया जस्ता देखिन्छन्। उनीहरूलाई दिल्लीमै रहेका चिनजानका व्यक्तिले प्रतिव्यक्ति १५ हजार भारु दिने र नेपाल आउदा जादाको प्लेन टिकटलगायत यहाँको सुविधा दिने प्रलोभन दिएर नेपाल पठाएको खुलेको छ।
विमानस्थल सुरक्षा काार्यलयका प्रवक्ता सिलवाल भन्छन्, ‘पक्राउ परेका भारतीयको गतिविधि हेर्दा केही शंकास्पद देखिन्छ। झोलामा के छ भन्ने विषयमा उनीहरूले केही जवाफ दिन सकेका थियनन। उनीहरूलाई झोला रिसिभ गरेर होटलसम्म पुर्याइदिनका लागि प्रयोग गरेको देखिन्छ। उनीहरू यसअघि पनि आएका थिए कि भनेर अनुसन्धान गरिरहेका छौ। प्रोफेसनल भरिया हुन कि भन्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। उनीहरूको विषयमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान गरिरहेको छ।


