Aamsanchar

त्रियुगा नदीको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

Author Image
बिहिवार, फागुन ७, २०८२

गाईघाट-  उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने त्रियुगा नदीको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन आयोजना पुलचोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा ५५७ मिटर लामो झोलुङ्गे पुलको निर्माण थानी निर्माण सेवा काठमाडौँले गरेको हो ।

बर्सौदेखि त्रियुगा नदी वारपार गर्दा बाढीको उच्च जोखिम मोल्दै आएका स्थानीयले अब भने बर्सातको समयमा ज्यानै जोखिममा राखेर बाढी तर्नुपर्ने अवस्था अन्त्य भएको र आफूले यहाँ पुल निर्माणका लागि योजना ल्याउन अथक प्रयास गरेको सो क्षेत्रका निवर्तमान सङ्घीय सांसद एवं पूर्वपरराष्ट्रमन्त्री डा। नारायण खड्काले बताउनुभयो । उहाँले विकासको मेरुदण्ड भनेकै पूर्वाधार निर्माण हुनु हो भन्दै पुल नहुँदा अनेकौँ समस्यामा झेलेका यस क्षेत्रका स्थानीयको सहज दिन सुरु भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस क्षेत्रको विकासका लागि निरन्तर लागिपर्ने बताउनुभयो ।

चौदण्डीगढी नगरपालिका–१० मा रहेका इक्राहा, खैरहा, शिवनगर, हडिया, अँधेरी, मुसहरनियालगायतका करिब सात सय घरपरिवारका मानिसलाई यो पुलबाट प्रत्यक्ष फाइदा पुग्ने छ । विशेष गरी बिरामी, सुत्केरी, विद्यालय जाने र आउने बालबालिका तथा कामकाजका लागि सदरमुकाम गाईघाट आवतजावत गर्न झोलुङ्गे पुल नहुँदा निकै समस्या हुने गरेको थियो ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक लेखबहादुर बस्नेतका अनुसार यतिबेला टावर निर्माणको काम अन्तिम चरणमा भइरहेको, माथिल्लो लट्ठा पनि टाँगी सकिएको र अन्य स्ट्रक्चरको काम पूरा भइसकेकाले अबको एक महिनाभित्र सम्पूर्ण काम सकी सम्बन्धित निकायलाई पुल हस्तान्तरण गरेर सञ्चालनमा ल्याउने गरी कम्पनीले काम गरिरहेको छ ।

Views: 15

प्रतिक्रिया (०)