

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक आज धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले बैठक वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले पूर्वराजा ज्ञानेन्द्रद्वारा प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मुलुकबासीका नाममा पठाइएको सन्देशलाई स्वागत गर्दै समर्थन गर्ने निर्णय गरेको छ। सन्देशमा उल्लेख भए अनुसार “पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति वा खिचातानी नहोस्” भन्ने विचारलाई मुलुकको यथार्थ र आम जनताको चाहनासँग मेल खाने राप्रपाको निष्कर्ष छ ।

राप्रपाले मुलुकको वर्तमान अवस्था दृष्टिगत गर्दै सर्वपक्षीय सम्मेलनको आवश्यकता र नविन समझदारी कायम गर्ने पक्षमा पटकपटक आवाज उठाउँदै आएको बताएको छ। पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्नुका साथै विभिन्न राजनीतिक दलहरूसँग विचारविमर्श गर्दै आएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले चुनावी अभियानका क्रममा पनि उच्च मनोबलका साथ आम जनतालाई जागरुक तुल्याउँदै सर्वपक्षीय समझदारीको लागि दबाब दिने रणनीति अपनाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । बैठकमा पूर्व अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, कमल थापा र काठमाडौँमा उपलब्ध अन्य केन्द्रीय पदाधिकारीहरू उपस्थित थिए।


