

काठमाडौं – सरकारले चुनाव प्रचार–प्रसारका लागि हिँडेका उम्मेदवारले सवारी साधनको रुफ खोलेर हिँड्न रोक लगाएको छ। बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षालाई ध्यानमा राख्दै सवारी साधनको छत निकालेर प्रचार गर्न रोक लगाउने निर्णय गरेको हो। यसका साथै अघिल्ला निर्वाचनमा देखिएका छिटफुट कमीकमजोरीलाई ध्यान दिँदै आगामी निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पार्ने निर्णय भएको छ।

गृह मन्त्रालका प्रवक्ता आनन्द काफ्ले भन्छन्, रुफ खोलेर प्रचारमा हिँड्दा उम्मेदवार नै असुरक्षित हुने अवस्था देखियो। जसले जतावाट जे गरे पनि भयो, यसैले उहाहरूको व्यक्तिगत सुरक्षालाई ध्यान राख्दै सरकारले यो निर्णय गरेको हो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकाले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन्।

गृहमन्त्रीले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए। बैठकमा तीनवटै सुरक्षा अंगका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाइँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको बताएका थिए।
बैठकमा सहभागीहरूले तराईका केही जिल्लामा सञ्चार सामाग्रीको अपुग भएको जानकारी गराएका थियो। झापा, दोलखा, सर्लाही जिल्लामा थप सामग्री पठाउने बैठकको निर्णय छ। बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफलसमेत गरिएको छ।
जुम बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए। छलफलमा हरेक जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट जिल्लाको सुरक्षा विवरण प्रस्तुत गरेका थिए।


