बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा वक्ताहरूले स्व. सी.के. प्रसाईको बहुआयामिक व्यक्तित्व, प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता तथा सरल राजनीतिक जीवनशैलीबारे चर्चा गरेका छन्।

सी.के. प्रसाईको ३२औँ स्मृति दिवसका अवसरमा सी.के. चिन्तन प्रतिष्ठान झापाले आयोजना गरेको ‘सी.के. प्रसाईको व्यक्तित्व र प्रजातान्त्रिक समाजवाद’ विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा सहभागीहरूले उहाँका विचार, जीवनदर्शन र योगदान स्मरण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले सी.के. प्रसाईलाई “कांग्रेसको इन्साइक्लोपेडिया” को संज्ञा दिँदै उहाँको व्यक्तित्वमा समाजवादको पूर्ण अभ्यास र स्पष्ट वैचारिक व्याख्या रहेको बताए। राजनीतिमा रुचि राख्ने सबैले ‘सी.के.को सरल राजनीति’ पुस्तक पढ्नुपर्ने उल्लेख गर्दै उनले प्रसाईले दैनिक बिहान ४ देखि ५ बजेसम्म नियमित लेखन गर्ने गरेको स्मरण गरे।
पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले राजनीतिमा विचारप्रतिको प्रतिबद्धता, इमान्दारिता र निष्ठा आवश्यक हुने बताए। “अर्काको घर भत्काएर आफ्नो घर ठडिँदैन, सबैको घर अग्लो भए मात्र समृद्धि आउँछ,” उनले भने।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले “नेताको बोली बन्दुकको गोलीभन्दा बलवान हुन्छ” भन्ने प्रसाईको विचार सधैं सान्दर्भिक रहने बताए। सामाजिक सञ्जालको लोकप्रियता मात्रै चुनावी मतमा परिणत नहुने उदाहरण अन्य देशका निर्वाचनले देखाएको उनको भनाइ थियो।
पूर्व केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. २ की उम्मेदवार सरिता प्रसाईले सी.के. प्रसाईका विचारबाट धेरै मानिस प्रजातान्त्रिक समाजवादी धारामा आबद्ध भएको बताइन्। वी.पी. कोइरालाको समाजवादी चिन्तनलाई प्रसाईले सहज रूपमा व्याख्या गरेको उनले उल्लेख गरिन्।
पूर्व मन्त्री खगेन्द्रप्रसाद प्रसाईले वैचारिक आस्था फरक भए पनि सी.के. प्रसाईको इमानदारी र व्यक्तित्वले सबैलाई एक ठाउँमा उभ्याउन सक्ने बताए। वरिष्ठ अधिवक्ता लीला उदासीले वी.पी. कोइराला र तुर्सा हेमरमको सन्दर्भ बिना सी.के. प्रसाईको व्यक्तित्व अपूरो रहने धारणा राखे।
साहित्यकार कृष्ण धराबासीले प्रतिष्ठान स्थापना र प्रसाईका विचार प्रकाशनको ऐतिहासिक पक्षबारे चर्चा गर्दै निर्वासनको कठिन समयमा समेत गिरिराजकुमारी प्रसाईको योगदान उल्लेखनीय रहेको बताए। अधिवक्ता लक्ष्मी खनाल कोइरालाले ‘सी.के.को सरल राजनीति’ पुस्तक आज पनि समयसापेक्ष रहेको बताए।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका अग्रज योद्धा तथा सी.के. प्रसाईका समकालीन राजनीतिज्ञ डिल्लीप्रसाद सिटौलालाई सम्मानपत्र, खादा र नगदसहित सम्मान गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष टीकाप्रसाद प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष सजेश शिवाकोटीले गरेका थिए भने सञ्चालन महासचिव इन्दु पूर्वेलीले गरेकी थिइन्। कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा पेशागत क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको कोषाध्यक्ष कञ्चना ढकाल सिटौलाले जानकारी दिइन्।


