

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल,उमेश कोइराला र विदुर कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ ।

पशुपतिको शवदाह मेसिन खरिद प्रकरणमा सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।उनीहरुले भारतीय रुपैयाँ ३२ लाख ५० हजार पर्ने शवदाह मेशीनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख पर्ने देखाई एवं प्रचलित कानुनले दिएको छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपले बढी लागत अनुमान तयार गरेको अभियोग छ ।
सो मुद्दामा सदस्य सचिव डा।थापासहित तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरु पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरीलगायतलाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी पशुपति क्षेत्र विकास कोषका लेखा अधिकृत चन्द्र प्रसाद खनाल, पुलचोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार तथा मूल्याङ्कन समिति सदस्य लैन बहादुर थापा, सप्लार्यर्स कम्पनी म्याप इन्टरप्रिनियर्सका सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराई र एप्पल इन्जिनियरिङका प्रबन्ध निर्देशक सुरज चापागाईँलाई समेत सो मुद्दामा प्रतिवादी बनाइएको छ । प्रतिवादीहरूसँग जनही एक करोड ८२ लाख बिगो माग दाबी लिइएको छ ।


