

डोल्पा – आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा हिमाली जिल्ला डोल्पामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न नेपाली सेनाले नियमित गस्तीलाई तीव्रता दिएको हो ।भौगोलिक रूपमा अत्यन्तै विकट, सडक पहुँच नपुगेका र कठिन हिमाली भू–भाग भएका क्षेत्रहरूमा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सेनाले घोडाको प्रयोग गरेर गस्ती सुरु गरेको छ ।विशेषगरी माथिल्लो डोल्पाका दुर्गम मतदान केन्द्रहरूमा पुग्न र सुरक्षा प्रणालीलाई मजबुत बनाउन यो उपाय अपनाइएको सुलीगाड स्थित संग्राम शार्दुल गुल्मका गुल्मपति हरीश शाहीले जानकारी दिए ।‘माथिल्लो डोल्पाका अधिकांश भूभागमा हिउँ छ, सडक सञ्जालको पहुँच छैन,’ उनले भने, ‘हिउँले गस्ती गर्न समस्या हुने भएपछि घोडाको प्रयोग गरेर भएपनि गरिरहेका छौं ।’
माथिल्लो डोल्पाको अधिकांश क्षेत्रहरूमा कठोर मौसम, उकालो ओरालो भू–भाग र सुरक्षाकर्मीहरूलाई धेरै स्थानमा पैदल गस्ती गर्न असहज हुने भएपछि घोडा प्रयोग गरिएको उनले बताए ।



