

काठमाडौँ – गायक एवं कलाकार कमल विके निर्मोहीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित निर्मोहीको उपचारका क्रममा मंगलबार साँझ निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष राधिका हमाल पुनले जानकारी दिइन् । दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए ।परिवार श्रोतका अनुसार मंगलबार साँझ एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि पहिले भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

मिर्गौला रोगबाट पीडित उनकी पत्नी हेरमदेवी विकको गएको २३ माघमा निधन भएको थियो । तीन दशक बढी रेडियोमा बोलेर पश्चिम नेपालमा श्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोही लामो समयदेखि नेपाली लोक सङ्गीत र सञ्चार क्षेत्रमा समर्पित रहँदै आएका थिए । निर्मोहीले थुप्रै स्टेज कार्यक्रममा उद्घोषण गरेका छन् ।
उनका ‘बुलबुल तालैमा’, ‘आउँ त भने’, ‘मैले भन्थे नि’, ‘सलल बग्ने’, ‘ताने झै माया’, ‘अरू मैले’, ‘वनको फूल फुलेछ’, ‘कठै सानु’, ‘भेरी दोभान’, ‘लाग्यो माया’लगायतका गीत चर्चित छन् ।



