

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो।

सो समयपछि सबै रात्रिकालीन व्यवसाय पूर्ण रूपमा बन्द गर्न/गराउन सम्बन्धित सरोकारवालालाई जानकारी गराइएको छ।सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचानामा भनिएको छ,´आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गरी काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू मिति २०८२/११/१८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राती ९ बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात सम्पूर्ण व्यवसायहरू बन्द गर्नरगराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारी लागि सूचना प्रकाशित गरिएको हो।`
प्रशासनका अनुसार निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो। निर्देशनको उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ।



