

काठमाडौँ – संघीय राजधानी काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित शहरहरु मध्ये पाँचौँ बनेको छ। विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ अंक पुगेको स्विजरल्याण्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरले जनाएको छ। यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो।

प्रदूषित शहरमध्ये भियतनामको हनोई १६४, पाकिस्तानको लाहोर १६२, इन्डियाको कोलकत्ता र दिल्ली १६० अंक सहित पहिलो, दोश्रो, तेश्रो र चौथौ प्रदूषित शहर बनेका छन्।
वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा अंक विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ। मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर यो तहमा खुला ठाउँमा कुनै शारीरिक गतिविधि नगर्न सुझाइन्छ।

त्यस्तो अवस्थामा घरभित्रै बस्न हितकर ठानिन्छ। वैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआईलाई मरुन रङ दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ।
विशेषगरी डिजेलमा आधारित सवारीसाधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाले गर्ने उत्सर्जन, कृषि अवशेष जलाउँदा हुने उत्सर्जन तथा फोहोर बाल्दा हुने उत्सर्जन वायु प्रदूषणको प्रमुख कारण मानिँदै आएको छ।


