

इरानले अमेरिका र इसराइलसँग बढ्दो तनावबीच सात देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका अनुसार कतारको अल–उदेइद, कुवेतको अल–सालेम, संयुक्त अरब इमिरेट्सको अल–धाफ्रा, बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा, साउदी अरब, जोर्डन र उत्तरी इराकका अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरिएको हो।

इसराइलले इरानबाट करिब चालीस वटा ब्यालिस्टिक मिसाइल प्रहार भएको पुष्टि गरेको छ भने केही सामान्य घाइते भएको जनाएको छ। संयुक्त अरब इमिरेट्सको अबुधाबीमा मिसाइलको भग्नावशेष खस्दा एक व्यक्तिको मृत्यु भएको बताइएको छ। कतार, कुवेत र जोर्डनले भने आफ्ना हवाई प्रतिरक्षा प्रणालीले अधिकांश मिसाइल निस्तेज पारेको दाबी गरेका छन्।
यसैबीच इरानभित्र पनि ठूलो मानवीय क्षति भएको खबर आएको छ। कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार इरानका विभिन्न क्षेत्रमा दर्जनौंको मृत्यु भएको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र राष्ट्रपति मसुद पेजिस्कियन सुरक्षित रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन आह्वान गरेका छन्। इरानले भने आत्मरक्षाका लागि मात्र अमेरिकी अड्डाहरूमा प्रहार गरिएको र अमेरिकासँग हाल कुनै संवाद नभएको जनाएको छ।


