

मोरङ- सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

गएराति सुनवर्षी नगरपालिकाबाट उनीहरूलाई चार लाख ४९ हजार रुपियाँ नगदसहित नियन्त्रणमा लिइएको हो । मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार राति ९ बजेको समयमा शङ्कास्पद गतिविधि भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले गाडी खानतलासी गरेको थियो ।
सो क्रममा स्रोत नखुलेको उक्त नगद फेला परेको हो । खानतलासी गरिएको गाडीमा नगदका साथै नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारका सामग्रीहरू समेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय लेखनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ र सोही वडाका ४७ वर्षीय चक्र नेपालीलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा राति नै छाडिएको र बरामद भएको रकम र गाडीलाई थप कारबाहीका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा आज जिम्मा लगाइएको एसपी कटुवालले जानकारी दिनुभयो ।
स्थानीय अन्य राजनीतिक दलका कार्यकर्ताहरूले मतदातालाई पैसा दिएर प्रभावित पार्न खोजिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
निर्वाचन आचारसंहिता लागु भइरहेको समयमा शङ्कास्पद नगद र राजनीतिक सामग्रीसहित व्यक्तिहरू भेटिएपछि निर्वाचन स्वच्छ र निष्पक्ष हुने कुरामा राजनीतिक दलहरूले शङ्का गरेका छन् ।


