Aamsanchar

रुपन्देही–२ मा राप्रपा समर्थन विवाद : ‘कुनै व्यक्तिले पैसा लिएर चलखेल गरेको हुन सक्छ’

Author Image
आइतवार, फागुन १७, २०८२

रुपन्देही । निर्वाचनको शून्य समय नजिकिँदै जाँदा पुराना दलहरूबीच चुनावी तालमेलका लागि संवाद तीव्र बन्दै गएको छ। आफूसँग जनमत पर्याप्त रहेको दाबी गर्दै एक्लाएक्लै उम्मेदवारी दिएका दलहरू अन्तिम घडीमा आएर परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका देखिन्छन्।

परम्परागत तालमेलको अभ्यास दोहोरिने संकेतबीच रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कांग्रेस बीच समर्थनको चर्चा सार्वजनिक भएपछि विवाद चुलिएको छ।

जिल्ला अध्यक्षद्वारा औपचारिक खण्डन

राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले पार्टीले क्षेत्र नम्बर २ मा कुनै पनि दलका उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेका छन्। क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेपछि राणाले पत्रकार सम्मेलन गरी त्यसको खण्डन गरेका हुन्।

उनका अनुसार पार्टीसँग कुनै औपचारिक छलफल र सहमति विना जारी गरिएको विज्ञप्तिको कुनै अर्थ छैन। “केन्द्रदेखि जिल्लासम्म कसैसँग मिलेर जाने निर्णय भएको छैन। राप्रपाले कसैलाई पनि आधिकारिक समर्थन गरेको छैन,” राणाले भने।

‘पैसाको चलखेल हुन सक्छ’

जिल्ला अध्यक्ष राणाले विवादित विज्ञप्तिप्रति खेद प्रकट गर्दै चुनावको मुखमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले यस्तो गतिविधि भएको हुन सक्ने आशंका व्यक्त गरे।
“कुनै व्यक्तिले पैसा लिएर चलखेल गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रूपमा कसैलाई पनि समर्थन गरेको छैन,” उनले स्पष्ट शब्दमा भने।

उनले पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रामक सूचनाबाट विचलित नहुन आग्रह गरेका छन्।

मतदाता आजित, विकल्प खोज्दै

पुराना दलहरूले अन्तिम समयमा तालमेल खोज्ने प्रवृत्तिले मतदाता असन्तुष्ट देखिएका छन्। एक्लाएक्लै चुनाव लड्ने दाबी गरेर अन्तिम घडीमा चुनाव चिन्ह नै फेरिन सक्ने संकेत देखिँदा मतदातामा भ्रम सिर्जना भएको छ।

कतिपय शुभेच्छुक मतदाता यस पटक परम्परागत तालमेलको विरोधस्वरूप फरक विकल्प रोज्ने मनस्थितिमा पुगेको चर्चा स्थानीय तहमा छ।

निर्वाचनको संघारमा आएको यो समर्थन–विवादले रुपन्देही–२ को राजनीतिक माहोल थप तातेको छ। अब अन्तिम घडीसम्म दलहरूको आधिकारिक धारणा र निर्वाचन परिणामले नै मतदाताको मनोविज्ञान कता मोडिन्छ भन्ने स्पष्ट हुने देखिन्छ।

Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर